January 12

पहिलो घडी!

ठ्याक्कै साल,महिना र गते त याद भएन तर कुरा आज भन्दा लगभग १२-१३ बर्ष जती अगाडिको हो। असार को महिना रहेछ क्यारे । स्कुल  बिदा थियो। बिहान उठेर १ थाल भात हसुरे पछी बेलुका फेरी थाल तान्न मात्रै घरमा पुगिन्थ्यो। दिउसो को खाजा को बन्दोबस्त आँफै गरिन्थ्यो साथीहरु सँग मिलेर। कहिले काँक्रो कहिले नास्पती कहिले अम्बा…..त्यस्तै मौसम अनुसार।

धेरै जसो त अरु को बारीमा शिकार खेलिन्थ्यो तर समय र परिस्थिती अनुसार कहिले काही आफ्नै बारीमा पनि छोडिएन। दिउसो साथी हरु सँग बसेर खादा त सिस्नोले पोलेको,बारुला ले चिले को पनि पनि बाल नहुने तर बेलुका भने म भन्दा पहिला दिउसो हराएको काँक्रो को खबर घर पुग्दा भने अली अली नरमाइलो लाग्थ्यो।

आमा को गाली सँगै एक थाल भात मज्जा ले खाएर खाट मा पल्टेपछी एकैचोटी बिहान। लामखुट्टे त त्यो बेलामा पनि थिए होलान नि है? तर लामखुट्टेले निदाउन दिएनन भनेर गुनासो कहिल्यै गरिएन। थाहै पाइएन!

त्यो दिन पनि रुटिन अनुसार भात खाएर केटाहरु जम्मा भए। हिजो राती ठुलो पानी पर्या थियो रे!एउटा ले भन्यो। कान मा लाम्खुट्टे कराएको त थाहा हुँदैन आफुलाई सुतेपछी अब बाहिर परेको पानी कसरी थाहा पाउनु!

एकै छिन मा कार्यक्रम पनि तय भयो। खहरे खोलामा पौडी खेल्न जाने। लौ त्यती राम्रो सँग पौडिन त आउदैन त्यही पनि जाने भनेपछी जाने। लगभग आधा घण्टा को ओरालो ओर्ले पछी पुगियो खोलामा। हिजोराती पानी साचिकै परेको रहेछ। खोला त ठुलै पो भएछ!

खोला को छेउमै रोपाइ हुँदै थियो। त्यही छेउमा कपडा खोलेर खोला तिर हाम फालियो। केहीबेर त त्यही पौडी खेलियो। केहीबेर पछी भने अली ठुलो रह को खोजी मा अली पर नै पुगियो। अनी भेटियो पनि र दिन भर मज्जाले पौडी खेलियो। अझ मैले त त्यही दिन रोलिङ हान्न पनि सिके।

बिस्तारै बिहान को भातले काम गर्न छोड्यो। पेटमा मुसा दौडिन थाले। घाम पनि डाँडापारी पुगिसकेछ। फेरी त्यो उकालो पनि त उक्लिनु छ। अब घर फर्किने भनेर बिहान कपडा खोलेको ठाउँमा आएको त एउटा कपडा पनि छैन ! ल बर्बाद! केटाहरु सब चुपचाप एक अर्का को मुख हेर्न थाले। सबैको अनुहार मा एौटै प्रश्न थियो। कपडा खोइ? मलाई भने सगै अर्को पिर पनि थपियो। पाइन्ट को खल्ती मा राखेको घडी, त्यो पनि दुई हप्ता अघी बा ले काठमाडौं बाट ल्याइदिनुभको पहिलो घडी।

एकछिन पछी त्यही नजिकै धान रोप्दै गरेका खेताला लाई सोध्न  हामी मध्यको एक जना साथी लाई पठाइयो। केही बेर पछी उस्ले खबर लिएर आयो। कुरा के भएछ भन्दा: हामीले कपडा खोलेकै ठाउँ को नजिकै उनिहरुको हली ले पनि कपडा खोलेर राखेको रहेछ अनी दिउसो चुरोट खान भनेर खल्ती हेरेको त चुरोट पनि छैन रे! पैसा पनि छैन रे! अनी नजिकै हाम्रो कपडा देखेपछी हामीले नै चोरेको हुनु पर्छ भनेर सबै कपडा लिएर गएछ।

अब हामीले चोरेको त होइन। नबिराउनु नडराउनु! भनेर फेरी त्यही साथी लाई पठाइयो हली भए तिर। साथी ले गएर हाम्रो कपडा खोइ भनेर के सोधेको थियो मुला हली ले त गोरु चुट्ने लौरी ले पिडउलामा बजाइ हालेछ। कपडा लिन गएको साथी आँखा भरी आसुँ लिएर आयो।

अब गर्ने के? सबै जना अन्योल मा परीयो। घाम डुबिसक्यो। कट्टु मात्रै लगाएर घर जाने कुरा पनि आएन। अझै मेरो त घडी पनि छैन। घरमा गएर के भन्ने।

केहीबेर पछी सबै सँगै हली सँग कुरा गर्न गइयो। अनी हामीले चोरेको होइन नपत्याये हामी सबै को कट्टु छामे हुन्छ।हामीले पैसा लुकाउन र हलीले छाम्नलाई हाम्रो कट्टुमा खल्ती पनि त हुनु पर्‍यो । बरु हाम्रो खल्तीमा पनि घडी र अली अली पैसा छ हाम्रो कपडा दिने भए दिनुस नत्र हामी घरमा भन्दिन्छौ भनेर भने पछी हलिले कपडा को पोको हामीलाई दियो। हत्तपत्त आफ्नो पाइन्ट झिकेर खल्ती छामे एउटा…दुइटा…. तीनवटा! लौ कुनै खल्ती मा पनि छैन घडी त। साथीहरु को खल्ती मा भएको अलिअली पैसा पनि हराएछ। चोर ले सबै का खल्ती रित्याएछ।

अध्याँरो भैसकेको थ्यो। सबै जना चुपचाप घरतिर हिँडियो।

घर पुगेपछी डराउदै डराउदै सबै कुरा बा र आमा लाई भने। सोचे भन्दा फरक बा-आमा कसैले पनि गाली गर्नु भएन। आमाले भात खान दिनुभयो तर भात अरुदिनको जस्तो मिठो लागेन. आमाले दिने गालीको अचार जो थियन भात सँग अनी कसरी मिठो होस्। गएर खाट मा पल्टिए। निन्द्रा लागेन। घडीको याद आइरह्यो। रातभर लामखुट्टे कराइरहे!



Copyright 2016. All rights reserved. sachinpaudel.com.np

Posted January 12, 2016 by august in category "General

1 COMMENTS :

  1. By Laxmi subedi on

    Hahaha ramilo lagyo last line , pahila lamkhutte karayako awaj nasunne le aaja ghadi ko pir ra aamako gali nakhada tha paunu vaya6.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *