March 29

जा-गीर जिन्दगी

आज साँझ तिर एकजना पुरानो साथि भेटियो।हामि दुवै पोखरामै भएर पनि भेट कमै हुन्छ। सोध्यो ,के गर्दै छस् ? त्यहि कलेजमै छु यार! मैले भने।

प्रोफेसर भछस् है? उसले हाँस्दै भन्यो। म केहि बोलिन।

जा-गीर गर्न थालेको २ बर्ष पुग्यो। म एउटा कलेजमा काम गर्छु। कलेजमा काम भन्न नभ्याउदै धेरै ले सोध्छन् ,पढाउने हो?

होइन! म त्यो कलेजमा Wi-Fi को पासवर्ड चेन्ज गर्ने मान्छे हुँ।अनि फेसबुक पेज को एडमिन पनि ! मेरो काम सबै भन्दा सरल तरिकाले बुझाउने सायद यिनै कुरा होलान।

यो जा-गीर सुरु गर्दा म पढ्दै थिँय।मेरै उमेरका बिध्यार्थिहरु थिए, लास्ट सेमेष्टर का २-४ जना त मलाइ तिमि भनेर बोलाउथे। मलाइ के थियो र तिमि भने पनि तपाँइ भने पनि, म त  जागिर पाएर मख्ख जो थिए। IT को स्टुडेन्ट मलाइ हाइ स्पिड इन्टरनेट थियो, एउटा घुम्ने कुर्सि, टेबल र एउटा लेनोभो को ब्रानडेड डेस्कटप थियो। अनि महिना दिन पुग्ने बित्तिकै स्यालरी!

साथि बिजनेस गर्छ। बिजनेसम्यान हो।भर्खरै उत्तर को मित्रराष्ट्र  भ्रमण बाट फर्केको छ ! साथिले मैले गर्ने काम थाहा नभएर मलाइ प्रोफेसर भनेको भने होइन! थाहा भएर नै भनेको हो!

जा-गिर गरेको ६ महिना जति भएको थियो। खल्तिमा अलिकति दाम थियो।दशैंको बेला थियो। साथिहरु सँग घुम्न जाने प्लान रेडी थियो। लिभ एप्लिकेसन पनि रेडि बनाएर हाकिम सँग बिदा माग्न गएँ। हाकिमले पनि रेडिमेड जवाफ दिनु भयो! बिदा मिलेन। पहिलो पटक लाग्यो जागीर भनेको जा-गीर रहेछ।जानु र गिर्नु नै रहेछ!

बिहान आठ बजे मेरो ड्युटी सुरु हुन्छ। जागिर को पहिलो बर्ष र कलेज को अन्तिम दुइ सेमेष्टर मैले मेरो कलेजको लास्ट क्लास कहिले पढिन।जा-गीर मा पन्कचुअल जो हुनु थियो!,११ बजे तिर एकछिन हात मुख जोड्ने फुर्सद मिल्छ। साँझ ४ बजे छुट्टी हुन्छ। दैनिक ब्ल्याक टि का कम्तिमा ३ वटा र बढिमा ५ कप रित्याउछु। २ बर्ष भयो यहि रुटिन मा जिन्दगी चलेको!

दिनै भरी कमप्युटर को अगाडि बस्ने भएकाले आँखा कमजोर भए कि भन्ने डर ले एक पटक आँखा अस्पताल पनि पुगियो ! धन्न अहिले सम्म ठिकै रहेछन्। फर्किदा एउटा चश्मा पनि कीनेर ल्याएको हो तर लगाउने बानी नभएर होला धेरै जसो झोला मै हुन्छ।

साथिले ६ जना लाइ रोजगार दिएको छ। उसकोमा हेल्पर काम गर्नेको स्यालरी मेरो भन्दा धेरै छ। उसलाइ नाकाबन्दी ले सामान रोकिएको पिर छ।मलाइ तलब नबढेको।

मैले  जागिर र व्यापार को अलिकति भिन्नता मात्रै लेखेको हुँ। मैले आफुलाइ त्यो साथि सँग दाँज्न खोजेको होइन! दाँज्नु मुर्खता हो थाहा छ मलाइ! मलाइ म हुनुँ मै गर्व छ र साथिलाइ उ हुनुमै। हरेक मान्छे को आ-आफ्नै जिन्दगी छ र आ-आफ्नै कथा छन् ! साथिले झस्काइदियो, साथिको दायित्व पनि हो त्यो!  त्यसैले उ जोडियो यो कथा मा!

२ बर्ष भन्दा धेरै यो जा-गीर गर्दिन भन्ने सोच थियो तर सोच भन्दा बलियो समय रहेछ! हेर्दै जाँउ समयले कता डोर्याउछ।

यी २ वर्ष त्यति सस्तो मा खेर गएका पनि छैनन्।

मैले यहि जा-गीरमा धेरै कुरा सिक्ने अवसर पाएको छु। सिकेको छु। र अझै  धेरै सिक्ने छु।

म हाँस्न पनि नजान्ने मान्छे , तर मैले सबै जाना बाट तिरेरै नसकिने मुस्कान पाएको छु।सबै को नाम लेख्न मन लागेको थियो तर लिस्ट लामो बन्यो त्यसैले राखिन। तँपाइ सबै प्रति आभारी छु। खुसि छु।

सबैलाइ धन्यावाद! बिशेष धन्यवाद त्यो साथिलाइ ! उ सँग भेट नभएको भए सायद म झस्किने थियन होला मैले यो लेख्ने पनि थिएन होला!

तपाँइ सबैको जय होस!

 


Tags: , , , ,
Copyright 2016. All rights reserved. sachinpaudel.com.np

Posted March 29, 2016 by august in category "General", "story

Leave a Reply

Your email address will not be published. Required fields are marked *