August 5

बेपत्ता मुस्कानहरु

हिजो बेलुका कामबाट घर फर्कंदै थिएँ। चोकमा मान्छेको भीड रहेछ। हेर्दै हिँड्दै थिएँ। एक जना बुढी आमाले लिएको प्ले कार्डमा आँखा ठोक्किए।

मेरो पाइला रोकिए। ती बुढी आमाको नजिकै गएँ र प्ले कार्डमा  मुस्कुराइरहेको ब्ल्याक एन्ड ह्वाइट फोटो हेरेँ। त्यो मुस्कान  विजयको थियो।

म पाँच कक्षा पढ्दाको कुरा। मैले पढ्दै गरेको स्कुल बन्द भयो। घरमा आमालाई सोध्दा ‘माओवादीले बन्द गराका हुन् तेरो स्कुल।  माओवादीले भनेजति चन्दा दिन सकेनन् बन्द अर्दिए’ भन्नुहुन्थ्यो। स्कुल बन्द भएपछि सर,मिसहरु कता जानुभयो थाहा भएन ।

म  ६ क्लास पढ्न सरकारी स्कुल जानुपर्ने भो। खुसीको कुरा के थियो भने सरकारी स्कुलमा मैले र मेरो कक्षाबाट आएका सबैले सिधै ७ कक्षामा भर्ना पायौँ । डम्बरबाहेक, उसकी बहिनी पनि सात कक्षामै पढ्ने रहिछ। त्यसैले ऊ  ७ कक्षामा पढ्न मानेन र  सिधै ८ मा भर्ना भयो।

एक दिन खाजा खाने छुट्टी सकिसकेको थियो। पालेदाइले पाँचौ पिरिएडको घण्टी पनि बजाइसक्नु भा’थ्यो तर, टिकाराम सर आउनुभएन। केही बेरपछि एक जना नयाँ मान्छे कक्षामा आयो। उसले दाह्री पालेको थियो। एउटा पुरानो झोला बोकेको थियो। ऊ कक्षामा छिरेपछि सबै जना उठे। तर, उसले बस पनि नभनी सबै जना अफिस कोठा अगाडि आउनुहोला भनेर  गयो।

अफिस अगाडि स्कुलभरिका विद्यार्थी जम्मा भएका थिए। दस कक्षाका केटाहरु तन्कीतन्की हेर्दै थिए। खास खुस गर्दै भीडभरि एउटा कुरा फैलियो, ‘भित्र त दुई जना माओवादी छन्। विजय र अर्को एक जना।’

केही बेरपछि एउटा केटो ढोकामा देखापर्यो र भीडतिर हेर्दै मुसुक्क हाँस्यो। अघि चलेको हल्ला साँच्चै रहेछ। ढोकामा विजय थियो। गाढा नीलो रंगको क्याप, कालो ज्याकेट, पुरानो जिन्स प्यान्ट लगाएको थियो। उसले अफिस कोठाबाट हातमा तीन वटा फोटो लिएको थियो, फ्रेममा राखेका।

मलाई पहिलो पटक मेरो कक्षाको साथी अर्जुनले चिनाएको थियो। ऊ त्यही हो दस कक्षाको फस्ट ब्वाई विजय दाइ, क्या जान्ने हुनुहुन्छ पढाइमा, हाम्रो घर नजिकै हो म नजानेको होमवर्क विजय दाइलाई नै सोध्छु भनेर।

सधैं हाँसी राख्ने। सधैं फस्ट हुने र पढ्न जान्ने भएकाले सरहरु सबैले मन पराउने। सबै सरहरुले कक्षामा विजयजस्तो हुनुपर्छ भन्दै उदाहरण दिनुहुन्थ्यो।

बर्खे बिदा सकिएर स्कुल सुरु भएको एक हप्ता मात्र भएको थियो। आइतबारको दिन थियो। म स्कुल पुग्नेवित्तिकै अर्जुनले मलाई सुनायो- विजय दाइ त माओवादी हुनु भयो! हिजो राति उनीहरुसँगै जानुभयो। अरु कसैले भनेको भए म पत्याउँदैनथें होला तर अर्जुन त विजयको छिमेकी पनि थियो। पत्याउन कर लाग्यो।

पछि स्कुलभरि कुरा फैलियो। विजयका बा थिएनन्। मध्यरातमा आमाको सिरानीमा चिठी छाडेर ऊ बहिनीले पनि थाहा नपाउने गरी माओवादीसँग गयो। विजय माओवादी भयो। उसको बहिनीले चिठी पढेर सुनाउँदा उसकी आमा रोएको अर्जुनको घरसम्म सुनिएको थियो रे। तर, कसैलाई थाहा भएन उसले चिठीमा के लेखेको थियो? किन त्यसपछि विजयकी बहिनी स्कुल आउन छोडी? कसले बनायो विजयलाई माओवादी? किन बन्यो विजय माओवादी?

विजयले हातमा लिएका फोटोलाई पालैपालो फुटायो र विस्तारै सिसा पन्छाउँदै फोटो झिक्यो र भलिबल कोर्टतिर गयो। सबैजना उसैलाई पछ्याउँदै गए। उसले सबै जनालाई फोटो देखायो र छेउमा उभिएका पालेदाइसँग सलाई मागेर पालैपालो राजा महेन्द्र, वीरेन्द्र र रानी एेश्वर्या को फोटो जलायो। ऊ सँगै आएको मान्छेले ताली बजाउँदै ,राजतन्त्र मुर्दावाद भन्यो।  सँगसँगै सबैले मुर्दावाद…मुर्दावाद… भन्दै ताली बजाए।

ताली बज्दै थियो रानीको फोटो बल्दै थियो। दाह्रीवाला मान्छेले विजयलाई देखाउँदै कमरेडले केही कुरा राख्नुहुन्छ भन्यो। विजय थोरै अगाडि सर्यो र तीन मिनेटजति बुर्जुवा, सामन्ती, शासक, क्रान्ति, जनयुद्धजस्ता शब्द मिसाएर भाषण गर्यो र अन्तिममा सबै जनालाई कक्षामा गएर संस्कृत किताब ल्याउन भन्यो। अघि डराइडराइ आएका विद्यार्थी अहिले दौडेर कक्षामा गएँ। म पनि कक्षामा गएर झोलामा हेरेको मैले संस्कृतको किताब ल्याउन बिर्सेको रहेंछु। आज धन्न विजय आयो र गुरुको पिटाइ खानबाट जोगिएँ भन्ने लाग्यो।

भलिबल कोर्टमा किताबको थुप्रो बनिसकेको थियो। विजयले त्यसमा आगो लगाएपछि फेरि एकपटक तालीको वर्षात् भयो। कसैले भिडबाट सिठी पनि बजायो र केहीबेर माओवादी जिन्दावाद……..राजतन्त्र मुर्दावादको नारा घन्कियो। सरहरु सबै अफिस कोठाको झ्यालबाट यो सब हेरिरहनु भएको थियो।

स्कुलमा किताब जलाएको दुई दिनपछि हराएको कपी खज्दै गर्दा मैले संस्कृत किताब देखें । एकैछिन त के गर्ने गर्ने भयो। केही बेरपछि किताबको गातामा भएको सरस्वतीको फोटोलाई कैंचीले मिलाएर काटेँ। किताबको बीचमा राखेको मयुरको प्वाँख पनि झिकेर अंग्रेजी किताबमा सारेँ। लुकेर भान्छा कोठामा हेरें। चुल्होमा भात पाक्दै थियो। आमा तरकारी काट्दै हुनुहुन्थ्यो। नजिकै गएर बसें। आमाले नदेख्ने गरेर सलाई खल्तीमा हाले र घर पछाडि गएर संस्कृत किताबलाई ॐ स्वाहा पारेँ।

त्यतिबेला म आठ कक्षामा पढ्थे। माघको महिना हुनुपर्छ, म कक्षामा बसेर आँखाले बाहिरको घाम ताप्दै थिएँ। बलराम सरले सामाजिक विषयमा विश्वयुद्ध हुनुका कारण पढाउँदै हुनुहुन्थ्यो। दस जनाजति सेना स्कुलको गेटबाट छिरे। अन्तिमका दुई जना गेटमै उभिए। दुई जना अफिसकोठा मा छिरे बाँकी बाहिरै बसे।

एक छिनपछि हेडसरलाई लिएर सेना हाम्रै कक्षा कोठातिर आए। हेडसरले उहाँ नै हो बलराम त्रिपाठी सर भनेर सेनालाई देखाइ दिनुभयो। सेनाले बलराम सरलाई समातेर बाहिर निकाले। हामी सबै पछिपछि निस्कियौं। अरु कक्षाका सर र विद्यार्थी पनि बाहिर निस्के र चुपचाप हेरिरहे। गेटनिर पुर्याएपछि सेनाले कालो कपडाको सानो बोराले बलराम सरको टाउको छोपे र हात पछाडि लगेर हत्तकडी लगाए। आफैसँग लिएर गए।

स्कुल छुट्टी भयो। घर फर्कने बेला मेरो मनमा धेरै प्रश्नहरु थिए। बलराम सरलाई  सेना ले किन लग्यो? के बलराम सर साँच्चिकै माओवादी हो? हो भने माओवादीलाई सेनाले के गर्छ? बेलुका भात खाने बेलामा सबै कुरा आमालाई भनें र मनका सबै प्रश्न सोधें। ‘खै बाबु जमाना खराब छ, जसले जे गरे पनि भको छ,’ आमाले भन्नुभयो।

सामाजिक शिक्षा विषयको बलराम सरले पढाउन बाँकी हामी आफैले पढेर परीक्षा दियौँ। आठ कक्षाको जिल्लास्तरीय परीक्षाको रिजल्ट पनि आयो। म पास भएँ। तर, बलराम सरको कुनै खबर थिएन। हल्ला त मान्छेहरु अनेकथरी गर्थे तर यथार्थ कसैलाई थाहा थिएन।

म नौ कक्षा पढ्न पोखरा झरेँ। भाडाको कोठामा बसेर स्कुल पढ्न जान थालेँ। धेरैजसो शुक्रबार म घर आउँथे र दुई रात घरमा बसेर आइतबार बिहानै म स्कुल भेट्टाउन पुग्थें। बिहानै काफलघारीको ओरालो झरेर विजयपुर खोला तरेपछि महेन्द्रपुल पुग्ने बस पाइन्थ्यो। अरुबेला खासै समस्या नभए पनि बर्खाको बेला विजयपुर बढेर तर्न नसकिने हुन्थ्यो। खोलामा पुल थिएन। खोला तारिदिने मान्छे कुरेर बस्नु पर्थ्यो।

एउटा आइतबार बिहानै  काफलघारीको ओरालो झर्दै थिएँ। कसैले पछाडिबाट बोलायो।

ए भाइ एकैछिन पर्ख त!

पछाडि दुई जना मान्छे थिए। नजिकै आएपछि एक जनालाई मैले चिनिहालेँ। त्यो विजय थियो। अर्को मान्छेलाई भने मैले चिन्न सकिनँ। विजयले झोला बोकेको थियो। दुबै जनाका जुत्ता र कपडा पुराना थिए। अर्को मान्छे हिँड्न अप्ठ्यारो भएझैं विजयको पछिपछि हिँड्दै थियो।

विजयले सोध्यो, ‘कहाँ जान लाग्यौ भाइ यति बिहानै?’

मैले भनें, ‘ स्कुल जान लागेको दाइ।’

‘हामी पनि त्यतै जान लागेको, सँगै जाउँ न त हुन्न?,’ विजयले भन्यो।

मैले  ‘हुन्छ’ भनें।

‘भाइको नाम के हो ?,’ विजयले सोध्यो।

‘सचिन,’ मैले भनें।

मनमा कता-कता डर त लागेको थियो तर मैले पनि  सोधें, ‘तपाईं विजय दाइ होइन र?’

उसले हाँस्दै  ‘हो, कसरी चिन्यौ?’ भनेर सोध्यो।

‘म पनि तपाईं पढेकै स्कुलमा पढेको हो नि! यो सालबाट हो चेन्ज गरेको। तपाईंले स्कुलमा किताब जलाउँदा म त्यहीँ थिएँ,’ मैले भनें।

‘ए हो’ भन्दै ऊ मुस्कुरायो।

सँगैको अर्को मान्छे अघिदेखि नै  चुपचाप हाम्रो पछिपछि खुट्टा खोच्याउँदै हिँड्दै थियो। तल चौतारीमा पुगेपछि विजयले एकैछिन बसौं भाइ भन्यो। हामी तिनैजना चौतारीमा बस्यौं। उसले स्कुल र सरहरुको बारे सोध्यो। मैले थाहा भएजति सबै कुरा भनें। बलराम सरको कुरा पनि भनें। बलराम सरको कुरा सुनेपछि उसले भन्यो, ‘मारे साले कुकुरहरुले सरलाई। ब्यारेकभित्रै यातना दिएर मारे भन्ने खबर छ पार्टीमा। लाश पनि दिएनन् कुकुरहरुले।’

यसो भन्दा ऊ एकनाशले तल विजयपुरको खोला हेरिरहेको थियो। केहीबेर मौनता छायो। मौनतालाई तोड्दै विजयले अर्को मान्छेतिर हेरेर अब जानुपर्छ कामरेड विस्तारै हिँड्नुस् भन्यो। अर्को मान्छेले लामो सास फेरेर उठ्यो र हिँड्न थाल्यो।

खोला बढेको थियो। म एक्लै तर्न सक्दिनथें। विजयले पाइन्ट खोलेर झोलामा राख्यो र जुत्ता खोलेर हातमा लियो। मैले पनि त्यसै गरें। विजयले उसको हात राम्रोसँग समाउन भन्यो। मैले समातें र हामीले खोला तर्यौं। विजय झोला र जुत्ता त्यहीँ छाडेर फेरि पारि गयो र अर्को मान्छेलाई बुइ बोकेर खोला तार्यो।

एकैछिन कुरेपछि बस आयो। सिट खाली थियनन्। हामी तिनैजना उभियौं। विजयले मेरो पनि भाडा तिरीदियो। मनमनै खुसी हुँदै थिएँ। एक्कासि मेरो खुसी डर बन्यो, जब बसको कन्डक्टरले ‘अगाडि चेकिङ छ। आ-आफ्नो झोला र सामान लिएर झर्नुस् हामी अगाडि हुन्छौं’ भन्यो। मेरो मनमा ढ्यांग्रो बज्न थाल्यो। दिमागले केही सोच्न सकेन। विजय बसबाट झरिसकेको थियो, म पनि झरें। अर्को मान्छे झर्न बाँकी नै थियो। म छिटोछिटो चेकिङतिर गएँ। झोला देखाएँ र बस चढेँ। एक-एक गर्दै बसमा अघिका सबैजना आए। आउन बाँकी विजय र अर्को मान्छेमात्रै थिए।

‘कोही आउन बाँकी छ भने भन्नुस् नत्र बस जान्छ,’ कन्डक्टरले भन्यो।

म केही बोल्न सकिनँ। पछाडि फर्किएर चेकिङतिर हेर्न पनि सकिनँ। जाम-जाम गुरुजी भनेको आवाज सुनें। बस हुइँकियो। बसमा गोपाल योन्जनको स्वर गुन्जियो, ‘देशले रगत मागे …।’

भीडको बीचमा ठूलो ब्यानर थियो। ब्यानरमा मैले चिन्ने तीन वटा अनुहार थिए। बलराम सर, विजय र अर्को मान्छे। ब्यानरको माथि लेखिएको थियो, ‘राज्यद्वारा बेपत्ता पारिएकाहरु।’

भीडबाट निस्केर फेरि तिनै बुढी आमानजिकै गएर सोधेँ, ‘तपाईंको छोरी खै त आमा?’

बुढीआमाले प्लेकार्ड पल्टाएर आफ्नी छोरीको ‘ब्ल्याक एन्ड ह्वाइट’ फोटो देखाइन्।

Category: story | LEAVE A COMMENT