December 13

आमा, सपना र डिग्री

आजभोली डरलाग्दा सपना देख्न थालेको छु। सायद म डराएको छु। सपनाको बिपनासँग केही सम्बन्ध हुन्छ कि नाइ मलाइ थाहा छैन तर मेरी आमा सपनामा विश्वास गर्नुहुन्छ। सपनालाइ इन्टरप्रेट/ व्याख्या गर्नुहुन्छ। कालो सर्प देखे यो हुन्छ। बाघ देखे यो हुन्छ। सर्पले डस्न पायो कि पाएन। बाघले झम्ट्यो कि झम्टेन यस्तै यस्तै….! कहिलेकाहीँ आमा आत्तिदै फोन गर्नुहुन्छ। राती सपना नराम्रा देखे त्यसैले फोन गरेकी भन्नुहुन्छ। मेरा सपनाको इन्टरप्रेट गर्ने आमा टाढा हुनुहुन्छ। हैन हैन यसलाइ यसरी भनौं – आमा घरमै हुनुहुन्छ, म आमालाइ छोडेर टाढा आएको छु। आधा सपना त बिहान उठ्न नापाउदै बिर्सिजान्छु तर जति सम्झेको छु त्यति टिपेर राखेको छु। कैले काहीँ त तिनै आधा सपना टिप्ने फुर्सद पनि हुँदैन। हजार सपना हरु को माया लागेर आँउछ…….भक्तराज आचार्य गुन गुनाउछु।

झ्याल बाट बाहिर हेर्छु Bin Chicken आफ्नो लामो चुच्चो ले कालो प्लाष्टीकको फोहरको पोको ठुँग्दै छ। मलाइ बिन चिकेनको इतिहास बुझ्न मन लाग्यो। गुगलेस्वर लाइ सोधेँ। यसको खास नाम आइबिस (Ibis) रहेछ तर सिड्नी मा यसलाइ आइबिस भन्दा बढी “बिन चिकेन” भनेर चिन्छन्। आदिवासी यो चरा कुनैबेला अष्ट्रेलियाको भित्री सिम्सार क्षेत्रमा बसोबास गर्ने रहेछ, जब सिम्सार क्षेत्र हराउदै गयो यो चरा पनि बाँच्नको लागि कोस्टल/ तटीय क्षेत्र तिर सर्दै आएको रहेछ। आहिले यो चराको मुख्य खानाको स्रोत भनेकै फहोर को पोका हो। फोहोर ठुँगेर जे भेट्छ त्यहि खान्छ। म सोच्छु यो भुगोल कस्को हो? मेरो भुगोल काँहा हो? म पनि त काँडेभ्याकुर हुँ। Ibis जे भोग्दै छ के म पनि त्यहि भोग्दै छु। किन सपनामा माछापुच्छ्रे र अन्नपुर्ण हिमाल देख्छु म?

जब जब म सँग आफैलाइ दिने उत्तर हुदैन तब म शंकर बाजेलाइ सम्झन्छु। एब्सट्रयाक्ट चिन्तन: प्याज सम्झन्छु। गोरेटोको खोजिमा सम्झन्छु। सम्झिन्छु…..

त्यही पर्खालभित्र मेरो ढोका छ।

त्यही बाटो नभएको अन्योलमा मेरो गोरेटो छ।

र त्यही गोरेटोमा मेरो भविष्यको राजमार्ग छ।

हिजो मात्रै युनिभर्सिटी को ग्रयाजुएसन सेरेमोनी थियो। चिनेका भन्दा नचिनेका मान्छेको भिड थियो। त्यो भन्दा अघी कहिले नदेखेको र नचिनेको मान्छेको हातबाट डिग्री लिए। कता कता मनमा नरमाइलो पनि लाग्यो। त्यसका लागी गरेको मिहेनत सम्झिदा खुशी पनि लाग्यो। मिक्सड इमोसन भन्छन् नि त्यस्तै केही फिल भयो। घर सम्झे। आमा, बुवा, दिदी, बहिनी सम्झे। ।आफन्तहरुलाइ सम्झे। साथीहरुलाइ सम्झे। मन मनै सबैलाइ धन्यवाद भने। फेरी पनि भन्छु। धेरे धेरै धन्यवाद!

गाँउमा भर्खर प्राइभेट स्कुल खुलेको थियो। आमाले मलाइ त्यही लगेर भर्ना गर्नुभएछ। होमवर्क लेख्नु पर्ने रहेछ A B C D लाइन तानेर पाना भरी । आमा मेरो हात समाएर मलाइ A लेख्न सिकाउनु हुँदो रहेछ तर मैले लेखेको A  कतैबाट पनि A  जस्तो नभएपछी। अघी बाटै यो सब हेरीरहनु भएका मेरो बुवाले आमालाइ “जान्ने भएर बोर्डिगँ स्कुल हालेकी” भनेर गाली गर्नुभएछ।आमा, बुवालाइ फेरी यो कुरा सम्झाउनुस र ढुक्कले भन्नुस : हो जान्ने भएकै हो भनेर।

आमा, दुनियाँ ले हेर्दा यो डिग्री मा मेरो नाम देख्ला तर म सधै हजुरको नाम देख्नेछु।

बुवा, आफ्नो आधा जिवन चक र डस्टर  घोटेर हाम्रा लागी दु:ख गर्नुभयो। त्यसको भरपाइ त केही हुनै सक्दैन तर पनि यो मेरो भन्दा बढी तँपाइको सपना हो। यो खुसी तपाँइलाइ समर्पण गर्छु।