February 10

मौनता…मौनता…मौनता!

abstract feelings

किन? Why?  को उत्तर , जवाफ, एन्सर जे भने पनि कहिले काँहि नहुने ,नपाइने र नभेटिने रैछ !मेरा प्रश्न गलत थिय कि? मैले गलत प्रश्न को सहि जवाफ गलत ठाउँमा  खोजेको हो कि? जस्तो पनि लाग्यो तर होइन । हो मान्छु म पनि ,सबै प्रश्नका उत्तर हुदैनन्। तर…तर…तर!

सायद मेरा प्रश्नमा समयलाइ रोक्ने सामर्थ थिएन । सायद माइ कोइसन्स डन्ट डिजर्भ योर  जवाफ।सायद मेरा प्रश्न र खोजिरहेका जवाफ समस्या का समाधान थियनन् होला ति आफै समस्या पो थिय कि। सायद मेरो सपनाहरु सपना नभएर हावा भरिएका बेलुन थिए!  सायद मेरा सोचाइ… भावना….बिचार… बिचार नभएर कुनै लोकल पत्रिका को सस्ता क्लासिफाइड विज्ञापन थिए ! सायद….सायद…..सायद!

मैले खोजेका धेरै जवाफ मैले मौनतामा भेँटे।अहिले बुझ्दै छु मौनता गुरु रहेछ । मौन रहनु आफैले आफ्नो गहिराइ नियाल्नु। मौनता को समुन्द्र मा तैरिनु। मौनता प्रिय छ आजभोलि…मौनता…मौनता…मौनता!

Expectation….Hope…..आशा…खै कतिबेला कसरी जोडिन पुगेछन थाहै भएन। थाहा नहुनु गल्ती भयो। र त सजाय भोग्दै छु। सजाय भएका छन् यादहरु। सजाय भएका छन् सम्झनाहरु….यादहरु…. सम्झनाहरु…. यादहरु!

समय दौडिरहेछ । म पनि घिस्रिरहेछु। यहि कतै बिचमा खुसी खोज्दै छु….खुसी…खुसी…खुसी!

तपाँइ सबैको जय होस्! जय…जय..जय!

December 28

हावा गफ!

ग्लोबल वार्मिगं र मान्छे मान्छे बिच को सम्बन्ध मा केहि  सम्बन्ध त पक्कै छ जस्तो लाग्न थालेको छ यार आजभोली। लौन कोहि रिसर्च गर्न इच्छुक हुनु हुनुहुन्छ भने गरिदिनुस मानव कल्याण को काम हुने थियो। मेरो खुबिले भ्याउदैन नत्र म आफै गर्ने थिय। जति जति यो ग्लोवल वार्मिगं बढ्दै छ याँहा सम्बन्धहरु झन् चिसा चिसा हुँदै छन्।

केहि समय यता मैले नजिक बाट देखेका केहि सम्बन्धहरु को तापक्रम नाप्नुपर्ने भयो र मैले नापे। ति सम्बन्ध को तापक्रम मैले सोचे भन्दा धेरै डरलाग्दो अवस्थामा पाँए। संसार सामाजिक सँजालमा सम्बन्ध बिस्तार गर्न तछाड मछाड गरिरहेछ तर वास्तविक जिवनमा सम्बन्धहरु फ्रिज हुने अवस्थामा छन् र कसैलाइ वास्ता छैन्। तपाइको दिमागमा अरु कसैको  कुनै त्यस्तै सम्बन्ध को तस्बिर सम्झनु भयो होला! तर तपाइ आफ्ना सम्बन्धहरुको डिग्रि नाप्नुस त कति रैछ तापक्रम? याँह सम्बन्ध भनेर मैले कुनै एक खाले सम्बन्ध भन्न खोजेको होइन।

कति चिसा छन् है सम्बन्धहरु? किन होला?

कसै सगँ धेरै आशा गरेर हो कि!

केहि स्वार्थ लुकेका पो छन् कि सम्बन्ध भित्र!

सम्बन्धलाइ समय नपुगेको हो कि!

अरु कुनै कारण छ कि!

नेपालीमा एउटा उखान छ नि। “छोराछोरी आफ्ना राम्रा अनि स्वास्नि चाँहि अर्काको राम्रि रे”। अनि अर्को पनि छ “बाउ आमा को मन छोराछोरि माथि छोराछोरि को मन ढुगां मुढा माथि”।

मेरो बिचारमा कुनै पनि सम्बन्ध बोझ वा भार हुनु हुदैन्। चाहे त्यो बाबुआमा संगको सम्बन्ध होस या पति पत्नि वा गर्लफ्रेन्ड ब्वाइफ्रेन्ड वा अरु कुनै। स्वतन्त्र जिवन को अंकुश सम्बन्ध हुनु हुदैन। बेला बेलामा तापक्रम नापिरहनुस चिसो हुन लागेको भए संगै कफि खाएर हुन्छ कि रम खाएर हुन्छ चिसो हुन नदिनुस। निस्वार्थ सम्बन्धहरु धेरै कम हुन्छन् त्यसैले तिनलाइ फ्रिज हुनबाट जोगाउनुस।

के के न human psychology and relation  जान्ने जसरि लेख्न खोजेको लेखे जति पढेको त केहि न काम को हावा लेखिएछ जस्तो लाग्यो र यो भन्दा बढि आदर्श को गफ नदे भन्यो मनले। बल्गमा पोस्ट पनि नगर भन्यो मनले तर यो मनले भनेका सबै कुरा मान्न पनि हुन्न अरे त्यसैले यता राखियो।

जाडो छ है बाहिर ? ल ल चिया,कफि, रम, भोड्का के के छ!  पिउनुस रमाइलो गर्नुस। Happy New  Year 2017! तपाँइ सबैको जय होस।

November 26

धन्यवाद! फ्रम बटम अफ माइ हार्ट!!

के लेख्नु? कति लेख्नु? कसरी लेख्नु? कसका लागि लेख्नु? सचिन ले लेख्यो लेखेन, के लेख्यो। हु केयर्स ?

जब लेख्न बस्छु यस्तै कुरा थुप्रिन्छन् यो  घनटाउके खप्परमा तर मन ले भन्छ सोच्ने हरुलाइ सोच्न दे यार….तँ लेख न।

र मैले लेख्न थाले….

धन्यवाद!!

सबैलाइ। सबैको नाम लेख्न लागे भने लिस्ट लामो हुने भयो त्यसैले लेखिन। तपाँइलाइ विषेश धन्यवाद। किन….? किन भन्दा तपाँइ मलाइ विश्वास गर्नुहुन्छ । यो मुला ले के लेखेछ भनेर हेर्नु भयो। नत्र टाइम इज मनि को मन्त्र जप्ने यो जमानामा यस्ता नन्सेन्स बल्ग पढ्ने फुर्सद कसलाइ छ यार। कुरा नघुमाइ भन्नु पर्दा ज्यान अहिले अष्ट्रेलिया मा छ, सिड्नीमा। बिमिरापानि देखि याँहा सम्म को यो यात्रा मा सहयोग गर्ने सबैलाइ धन्यवाद! फ्रम बटम अफ माइ हार्ट!

म मान्छे स्वार्थी रहेछु। म भित्र एउटा लेभल को स्वार्थीपन छ। यो कुरा म अहिले बुझ्दै छु। तिनै स्वार्थ ले गर्दानै म अहिले याहाँ छु। भोलि जाँहा हुनेछु त्यसको पनि कारण यहि स्वार्थनै हो।मेरो स्वार्थका लागि अरु कसैको हानि/कुभलो नहोस भन्ने मेरो चाहना हो तर पनि नजानेरै मेरो कारणले कसैलाइ हानि गरेको भए माफ गर्नुहोला।फ्रम बटम अफ माइ हार्ट!

बाँकी गफ अर्को लेखमा गरौला। तपाँइ सबैको जय होस!!

 

 

 

 

 

 

 

Category: General | LEAVE A COMMENT
October 3

बिम्ब! (उस्ले नपढ्ने कविता)

घामले सवेरै झ्यालवाट चिहाएर

सोधेको थियो एउटा सुनौलो प्रश्न

म कि उ?

मैले तिमिलाइ देखाँए।

हो त्यहि दिन देखि हो

घामले मेरो छाँया कालो बनाएको।

 

फूलले मुस्कुराउदै सोधेको थियो एउटा सुगन्धीत प्रश्न

म कि उ?

मैले भने : उसकै मुस्कान राम्रो!

त्यहि दिन देखि उम्रेका हुन फूलको हागाँमा काँडा

र देखिन थालेको हो बिहान बिहान फूल मा शीतका आँशु!

 

बतासले सुसेल्दै सोधेको थियो मलाइ

म कि उ?

मैले तिम्रो नाम सुसेलिदिए!

त्यहि रात हो हुरिले मेरो घरको छानो उडाएको।

 

जाँउ सँगै दुनिया घुमौला बादलले भन्थ्यो

मैले उसलाइ एक्लै छाडेर जान्न भनें।

त्यसै दिन देखि हो

छोप्न थालेको कालो बादलले आकाश

र पर्न थालेकोहो मुसलधारे पानी।

 

जाँउ सगैँ  भेटाइदिन्छु समुन्द्र

नदि ले भन्थ्यो।

म तिमिलाइ छोडेर बग्दिन भने।

त्यसै दिन देखि हो

पानि ले आफ्नो रगँ लुकाएको।

 

मैले सागर देखेको छैन

तर भन्न सक्छु

तिम्रा आँखाको गहिराइ

सायदै कुनै सागरमा होला।

वर्षौको तपस्या पछि मिल्ने वरदान

तिम्रा सामिप्यतामा हुने आभास हो

तिमि आफैमा एउटा सुन्दर फूल हौ।

तिमि बिम्ब हौ पुरै प्रकृतिको!

July 18

झरी र देश #iamwithdrkc

तीन दिन को बिदा बोकेर घर गएको थिए। तिनै दिन झरि पर्यो। पानि परेकोले होला बिधुत अपराधिकरण ले आक्कल झुक्कल बाहेक बिजुलि पठाइरह्यो। भान्जा हरुले मोटु पत्लु माज्जाले हेरे हामिलाइ पनि देखाए। बाहिर बादल ले घर को धुरी छोएर दौडिदै थियो,घरी घरी कुहिरो ले घर लाइ घपल्लकै छोपथ्यो। मैले पिडिमा बसेर आमाले पोलिदिएका हरिया मकै र मोही खादै महात्मा गान्धी को आत्मकथा(The Story of My Experiments with Truth ) पढ्दै गर्दा जोडियो देश र जोडिदै जानुभयो डा. गोविन्द के.सी र महावीर पुन। सबैलाइ थाहा छ दुवै जना आ-आफनै तरिकाले यो देश का लागि लड्दै हुनुहुन्छ। मलाइ धेरै कुरा थाहा छैन तर महात्मा गान्धीले भने को कुरा मा विश्वास गर्ने हो भने There is no God higher than Truth. र मलाइ विश्वास छ गान्धी को बिचार, डा. गोविन्द के.सी र महावीर सर सबैको जित हुनेछ र जित हुनेछ हामि सबै नेपालीको। जय नेपाल! #iamwithdrkc #iamwithmahabirpun


Category: General | LEAVE A COMMENT
March 29

जा-गीर जिन्दगी

आज साँझ तिर एकजना पुरानो साथि भेटियो।हामि दुवै पोखरामै भएर पनि भेट कमै हुन्छ। सोध्यो ,के गर्दै छस् ? त्यहि कलेजमै छु यार! मैले भने।

प्रोफेसर भछस् है? उसले हाँस्दै भन्यो। म केहि बोलिन।

जा-गीर गर्न थालेको २ बर्ष पुग्यो। म एउटा कलेजमा काम गर्छु। कलेजमा काम भन्न नभ्याउदै धेरै ले सोध्छन् ,पढाउने हो?

होइन! म त्यो कलेजमा Wi-Fi को पासवर्ड चेन्ज गर्ने मान्छे हुँ।अनि फेसबुक पेज को एडमिन पनि ! मेरो काम सबै भन्दा सरल तरिकाले बुझाउने सायद यिनै कुरा होलान।

यो जा-गीर सुरु गर्दा म पढ्दै थिँय।मेरै उमेरका बिध्यार्थिहरु थिए, लास्ट सेमेष्टर का २-४ जना त मलाइ तिमि भनेर बोलाउथे। मलाइ के थियो र तिमि भने पनि तपाँइ भने पनि, म त  जागिर पाएर मख्ख जो थिए। IT को स्टुडेन्ट मलाइ हाइ स्पिड इन्टरनेट थियो, एउटा घुम्ने कुर्सि, टेबल र एउटा लेनोभो को ब्रानडेड डेस्कटप थियो। अनि महिना दिन पुग्ने बित्तिकै स्यालरी!

साथि बिजनेस गर्छ। बिजनेसम्यान हो।भर्खरै उत्तर को मित्रराष्ट्र  भ्रमण बाट फर्केको छ ! साथिले मैले गर्ने काम थाहा नभएर मलाइ प्रोफेसर भनेको भने होइन! थाहा भएर नै भनेको हो!

जा-गिर गरेको ६ महिना जति भएको थियो। खल्तिमा अलिकति दाम थियो।दशैंको बेला थियो। साथिहरु सँग घुम्न जाने प्लान रेडी थियो। लिभ एप्लिकेसन पनि रेडि बनाएर हाकिम सँग बिदा माग्न गएँ। हाकिमले पनि रेडिमेड जवाफ दिनु भयो! बिदा मिलेन। पहिलो पटक लाग्यो जागीर भनेको जा-गीर रहेछ।जानु र गिर्नु नै रहेछ!

बिहान आठ बजे मेरो ड्युटी सुरु हुन्छ। जागिर को पहिलो बर्ष र कलेज को अन्तिम दुइ सेमेष्टर मैले मेरो कलेजको लास्ट क्लास कहिले पढिन।जा-गीर मा पन्कचुअल जो हुनु थियो!,११ बजे तिर एकछिन हात मुख जोड्ने फुर्सद मिल्छ। साँझ ४ बजे छुट्टी हुन्छ। दैनिक ब्ल्याक टि का कम्तिमा ३ वटा र बढिमा ५ कप रित्याउछु। २ बर्ष भयो यहि रुटिन मा जिन्दगी चलेको!

दिनै भरी कमप्युटर को अगाडि बस्ने भएकाले आँखा कमजोर भए कि भन्ने डर ले एक पटक आँखा अस्पताल पनि पुगियो ! धन्न अहिले सम्म ठिकै रहेछन्। फर्किदा एउटा चश्मा पनि कीनेर ल्याएको हो तर लगाउने बानी नभएर होला धेरै जसो झोला मै हुन्छ।

साथिले ६ जना लाइ रोजगार दिएको छ। उसकोमा हेल्पर काम गर्नेको स्यालरी मेरो भन्दा धेरै छ। उसलाइ नाकाबन्दी ले सामान रोकिएको पिर छ।मलाइ तलब नबढेको।

मैले  जागिर र व्यापार को अलिकति भिन्नता मात्रै लेखेको हुँ। मैले आफुलाइ त्यो साथि सँग दाँज्न खोजेको होइन! दाँज्नु मुर्खता हो थाहा छ मलाइ! मलाइ म हुनुँ मै गर्व छ र साथिलाइ उ हुनुमै। हरेक मान्छे को आ-आफ्नै जिन्दगी छ र आ-आफ्नै कथा छन् ! साथिले झस्काइदियो, साथिको दायित्व पनि हो त्यो!  त्यसैले उ जोडियो यो कथा मा!

२ बर्ष भन्दा धेरै यो जा-गीर गर्दिन भन्ने सोच थियो तर सोच भन्दा बलियो समय रहेछ! हेर्दै जाँउ समयले कता डोर्याउछ।

यी २ वर्ष त्यति सस्तो मा खेर गएका पनि छैनन्।

मैले यहि जा-गीरमा धेरै कुरा सिक्ने अवसर पाएको छु। सिकेको छु। र अझै  धेरै सिक्ने छु।

म हाँस्न पनि नजान्ने मान्छे , तर मैले सबै जाना बाट तिरेरै नसकिने मुस्कान पाएको छु।सबै को नाम लेख्न मन लागेको थियो तर लिस्ट लामो बन्यो त्यसैले राखिन। तँपाइ सबै प्रति आभारी छु। खुसि छु।

सबैलाइ धन्यावाद! बिशेष धन्यवाद त्यो साथिलाइ ! उ सँग भेट नभएको भए सायद म झस्किने थियन होला मैले यो लेख्ने पनि थिएन होला!

तपाँइ सबैको जय होस!

 

March 24

अल्छीका चिप्लीएका कुरा!!

हो म चीप्लीएको हो! लडेको हो! गुल्टीएकै हो! नराम्रोसँग पछ्छारीएकै हो!

अरु कसैले धकेलेको पनि होइन। आफ्नै जुत्ता को तुना टेकेर, जुत्ता चिप्लीएर लडेको हो।

यसो भन्दा त जुत्तालाइ गाली गरेझै भयो! बिचरा थोत्रा जुत्तालाइ पनि दोष नदिउँ।

म आफै हिड्न नजानेर लडेको हो। मुख्य कारण त म आफ्नै दिमाग को जोगी नभइ अर्काको दिमाग को राजा बन्न खोज्दा पल्टेको हो।

लडेको यो पहिलो पटक भने होइन। पहिला पनि लडेकै हो ! यो पाली खुट्टा मर्किने गरेर चिप्लीयो हेरौं कहिले सम्म निको हुन्छ।

जाडो लगभग सकयो । गर्मि पनि छैन। लामखुट्टे हरु पनि वार्मअप गर्दै होलान फिल्ड मा देखिदैनन्।  यो समयमा त पल्टे पछि निन्द्रा लाग्नु पर्ने हो नि! के गर्ने लाग्दैन।

निन्द्रा लागेन भनेर सधैं कति त्यहि कफी लाइ दोष दिनु । यो पाली को दोष फ्रस्ट्रेसन लाइ ! यो फ्रसट्रेसन ले फ्रसटु बनाइ सक्यो यार! अरुबेला रात भर भुक्ने कुकुर साँझ तिरै निदाँउछन कि के हो खै भुकदैनन्। स्कुल को पाले दाइले राती को बाह्र बजे बाह्र पटक बजाएको घण्टी मेरै लागि अब त सुत भनेर बजाएझै लाग्छ।

आँखा खोलेर देखेका सपनाहरु पुरा नभए पछी सपना देख्नैका लागी आँखा चिम्लिन पनि मन नलाग्ने रहेछ। जब सपनाहरु आफ्ना नितान्त व्यत्तिगत हदैनन् अरुका सपना सँग पनि जोडिन्छन् सपनाहरुको आकार बढ्दो रहेछ, ठुला  हुने रहेछन् र ति टुक्रिदा,भत्कीदा आवाज पनि चर्को आउने रहेछ। लामो समय सम्म गुन्जीने रहेछन् । गुन्जिरहेछन्!! हजार सपनाहरु को माया लागेर आँउछ!!

 

जे होस बिहान चाँहि साढे सात नबजी उठिदैन 🙂 !!

 

 

March 21

मन पर्ने कुरा!!

किताब हरु सँग यसरी माया बसेको छ कि, डिप लभ भन्छन् नि हो त्यस्तै।

कुनै बेला हात मा परेका सबै किताब एक- दुइ बसाइ मा सकिदिन्थे। त्यो किताब को भोक थियो होला सायद तर अहिले किताब सँग प्रेममा छु अनि भोक र प्रेममा फरक त हुने नै भयो।

अहिले किताब किन्नु अगाडी डर लाग्छ कतै याहि किताब को कारणले मेरो किताब प्रति को माया घटाउँछ कि भनेर।

यो मेरो ब्लग हो। याँहा म मलाइ मन परेको वा मन नपरेको जे लेख्न पनि सक्छु। तँपाइले पढ्नै पर्छ  भन्ने पनि छैन। तर समय र पैसा खर्च गरेर एउटा पाठक ले कितब पढिसकेपछी उसले त्यस बाट केहि आशा गर्नु त पाठक को अधिकार हो।

किताबकै विषयमा दिल निशानी मगर ले www.onlinekhabar.com मा लेखेको राम्रो लेख छ फुर्सद छ र किताब पढ्ने बानी छ भने पढ्नु होला लिन्क याँहा छ।

http://www.onlinekhabar.com/2016/03/403029/

फिल्म् का कुरा।

राती सुत्नु अगाडि फिल्म हेर्नु आजभोली दिन चर्या भएको छ।

कुनै बेला फिल्म मनोरन्जन को लागि मात्रै  हेर्ने मेरा लागि अहिले आएर बिल्कुलै फरक भएका छन् फिल्मका हेर्नुको कारण र परिभाषा।

फिल्म हेरेर सके पछि म केहि नयाँ सकरात्मक कुरा सिक्न सकुँ। मैले सुनेका कथा हरु फिल्ममा हेर्दा जिवन्त लागुन्। मैले नसुनेका कथा र ठाउँ हरु फिल्म मा म हेर्न सकुँ र त्यँही पुगेको महशुस गर्न सँकु । केही मोटिभेसन र इन्सपिरेसन मिलोस। मलाइ लाग्छ यति आश दर्शकले गर्नु पर्छ यदि राम्रो सिनेमा हेर्ने हो भने। हालै मात्र हेरेको एउटा डकुमेन्ट्री छ “ Racing Extinction” मिल्छ भने एक पटक हेर्ने सुझाव दिन्छु। र त्यहिँ बाट एउटा मन परेको  लाइन छ। “The whole world is singing, but we’ve stopped listening.”

अब अलिकती गित को कुरा।

धेरै वर्ष सम्म तँलाइ मन पर्ने गित कुन हो भनेर सोध्दा म सँग उत्तर थिएन जब “ फुल को आँखा मा फुलै संसार” आयो मैले मेरो उत्तर भेटें त्यस पछि “full circle” का गित थपिए र हाल आएर अर्को एउटा नाम थपिएको छ “ बिम्बआकाश ” Bartika Eam Rai का यि गित हरु साँचैं राम्रा छन्। युट्युब लिन्क तल छ सुन्नुहोला!

https://www.youtube.com/user/Thenamastegirl48

जाँदा जादै,

आज विश्व कविता दिवस रहेछ। मैले लेखेका यि कुरा लाइ कविता भन्न मिल्छ मिल्दैन मलाइ थाहा छैन तर एउटा यस्तो छ।

प्रयाश

हरेक दिन घामको न्यानो सँगै
बिलाउने सीतको थोपा जस्तै
मेरा प्रयाशहरु
बाफ बनेर हराउछन्
आकाश मा कतै
उड्छन ति हावाको झोका सँगै
अनी ठोकिन्छन ति अग्ला पहाड र हिमाल सँग।

तर पनि म थाकेको छैन
अन्धकार रात मा
फेरी झर्छु म
त्यँही कतै
घरको पालीमा,
बगैचामा,
फूल र पातमा।

म फेरी झरेकोमा गुनासो गर्छ त्यो धुलो
जो दिनभर फुरुङ्ग भएर उडेको थियो।
गुनासो गर्छन् ति मनहरु
जस्को कपडा उध्रेको थियो।
अनी गुनासो गर्छन् ति जल्नेहरु
जो मेरै कारण बल्नु परेको थियो।

अर्को बिहानी सँगै
फेरी घाम उदाँउछ मेरा विरुद्धमा
तर पनि म खुशी छु
घामको सुनौलो चम्काइमा।
त्यो ट्ल्काइमा।
हावासँगको त्यो उडानमा
सुनसान रातको त्यो प्रतिक्षामा
फेरी झर्ने आशमा
त्यही कतै फूल अनी पातमा।

February 25

अन्वन नम्बर!

साँझ ५ बजेर १० मिनेट हुँदा ५ र ६ को बिचमा उकालो लाग्दै गरेको सेकेन्ड सुइ ब्याट्री सकिएर त्यही अडिएको छ।

दुइ वर्ष भयो हातमा घडी नबाँधेको। खल्ती बाट मोबाइल झिकेर हेंरे आठ बज्न पन्ध्र मिनेट बाँकी रहेछ।

मेसेज बक्स मा दुई वटा नयाँ मेसेज आएको रहेछ। पहिलो टेलिकम ले तेरो पैसा सकियो रिचार्ज गर भनेर पठाएको रहेछ।

अर्को, नयाँ नम्बर बाट आएको थियो। लेखिएको थियो “ Don’t worry everything will be fine” मेरै लागि पठाएको हो कि झुक्किएर आएको हो थाहा भएन। फोन गरेर चिन्न मन लाग्यो तर ब्यालेन्स छैन।

हिजो एउटा नयाँ किताब को लेखक आउने थाहा पाएर किताब पसल गएको थिए। खै किन हो त्याहाँ पुगेपछी उसले लेखेको किताब पढ्न मन लागेन। आज भोलि हतार गरेर किताब किन्न पनि मन लाग्दैन। पाहिला १-२ पटक हतार गरेर सिकेको पाठ हो यो।

मान्छे हरु लेखक सगँ अगाँलो हालेर सेल्फी खिच्दै थिए म चाँही  “फ्रिडम टु डाइ” भन्ने किताब किनेर त्याँहा बाट निस्कीए।

भोक लगेको छैन। खाना बनाउने जाँगर छैन। भाँडा धुने कुरा त सम्झीन पनी मन छैन।

ति घडिका सुइहरु अझै त्यहि छन्। बिचराहरु लाइ अझै कति दिन त्यहि बस्नु पर्ने हो मलाइ पनि थाहा छैन! आखिर मेरो जिन्दगी पनी त त्यहि घडि जस्तो भएको छ ।

फेरी अघि को मेसेज को याद आयो। साचैँ त्यो मेसेज कस्ले पठायो होला?

कि त्यो मलाइ नजिक बाट चिन्ने कोहि हुनु पर्छ कि त्यो झुक्किएर आएको हुन पर्छ। त्यसै पनि आज भोलि मान्छे चिन्न धेरै गार्हो कुरा हो। चिन्ने भएको भए पनि नम्बर सेभ हुनु पर्ने मेरो मोबाइलमा।

नम्बर झुक्किएर मिसकल त मैले पनि गरेको छु धेरै पटक तर मेसेज त अँह गरेको छैन !

पहिला पनि मेसेज आएको छ कि भनेर पुराना सबै मेसेज हेरे। कल डिटेल पनि हेरे तर कतै छैन त्यो नम्बर। ल्यापटप खोलेर गुगलेश्वर महादेव लाइ खोज्न लगाँए त्याहाँ पनि भेटिएन। फेसबुकेश्वर लाइ पनि सोधें फेला परेन।

रिस उठ्यो। मेसेज को लास्ट मा आफ्नो नाम लेखेको भएनि त हुनेनि जस्तो लाग्यो। तर यो इमेल वा चिठि पनि त होइन।

एक मनले भन्छ – जो सुकै होस बाल दे ,जाबो मेसेज ले केहि हुने पनि त होइन ।

अर्को मन भन्छ – तँलाइ सम्झिने पनि त कोहि रहेछ । यो संसार मा आफ्नो भनेकै दु:ख को बेला आड र भरोसा दिने न हुन्।

उठेर पसल गए घर नजिक को पसल बन्द भैसकेछ। अल्लि पर को पसल गएर १०० रुपैयाँ को रिचार्ज कार्ड किने।

पर्समा सिक्का रहेनछ, नङले कोरे। रिचार्ज गर्न खोज्दा नेटवर्कले “ try again later “ मात्रै भन्छ।  मेरा समस्या लाइ पनि “कम अगेन लेटर” भन्न मिल्ने भए म जिन्दगी भर त्यहि भनेर टार्थे होला।

घर फर्कीदा बत्ति गयो बाटो पुरै अन्धकार। कुकुर भुक्न थाले। कुकुर सँग रिस उठ्छ्। यो कुकुर को जात साला भुकेरै संसार जित्छु झै गर्छन्।

त्यति धेरै रिस भएको मान्छे त म होइन तर आजभोली खै सानो सानो कुरा मा पनि रिस उठ्छ।

मोबाइल को उज्यालो बाल्दै घर पुग्छु । इमर्जेन्सी लाइट बालेर केहि बेर ट्राइ गरेपछी बल्ल रिचार्ज भयो।

ब्याट्री इन्डिकेटर ले ब्याट्री लो भनेर अघि बाटोमै भनेको हो। हतार हतार मेसेज आएको नम्बर मा कल गर्छु

उता बाट आवाज आँउछ “ तपाँइले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्वीच अफ गरीएको छ। केहि बेर पछि पून प्रयास गर्नु होला” !

त्यस दिन पछि हरेक दिन फोन गर्छु त्यो नम्बरमा तर सधै स्वीच अफ छ।

मलाइ थाहा छैन त्यो मेसेज मेरै लागि थियो कि थिएन। तपाँइलाइ म चिन्छु कि चिन्दिन। थाहा छैन किन त्यो दिन पछि स्वीच अफ छ तँपाइको मोबाइल।

समस्या सबैका हुन्छन् “Don’t worry everything will be fine” !

तपाँइ यो पढ्दै हुनुहुन्छ भने र तपाँइले नै मलाइ त्यो मेसेज गरेको हो भने फेरी एक पटक पछाडि नाम लेखेर

मेसेज गर्नु होला।

मेसेज गर्ने तपाँइ होइन भने यो नम्बर (9846059388) तपाँइको मोबाइल मा सेभ छ कि छैन चेक गर्नु होला छ भने कमेन्ट गर्नु होला!

 

 

January 12

पहिलो घडी!

ठ्याक्कै साल,महिना र गते त याद भएन तर कुरा आज भन्दा लगभग १२-१३ बर्ष जती अगाडिको हो। असार को महिना रहेछ क्यारे । स्कुल  बिदा थियो। बिहान उठेर १ थाल भात हसुरे पछी बेलुका फेरी थाल तान्न मात्रै घरमा पुगिन्थ्यो। दिउसो को खाजा को बन्दोबस्त आँफै गरिन्थ्यो साथीहरु सँग मिलेर। कहिले काँक्रो कहिले नास्पती कहिले अम्बा…..त्यस्तै मौसम अनुसार।

धेरै जसो त अरु को बारीमा शिकार खेलिन्थ्यो तर समय र परिस्थिती अनुसार कहिले काही आफ्नै बारीमा पनि छोडिएन। दिउसो साथी हरु सँग बसेर खादा त सिस्नोले पोलेको,बारुला ले चिले को पनि पनि बाल नहुने तर बेलुका भने म भन्दा पहिला दिउसो हराएको काँक्रो को खबर घर पुग्दा भने अली अली नरमाइलो लाग्थ्यो।

आमा को गाली सँगै एक थाल भात मज्जा ले खाएर खाट मा पल्टेपछी एकैचोटी बिहान। लामखुट्टे त त्यो बेलामा पनि थिए होलान नि है? तर लामखुट्टेले निदाउन दिएनन भनेर गुनासो कहिल्यै गरिएन। थाहै पाइएन!

त्यो दिन पनि रुटिन अनुसार भात खाएर केटाहरु जम्मा भए। हिजो राती ठुलो पानी पर्या थियो रे!एउटा ले भन्यो। कान मा लाम्खुट्टे कराएको त थाहा हुँदैन आफुलाई सुतेपछी अब बाहिर परेको पानी कसरी थाहा पाउनु!

एकै छिन मा कार्यक्रम पनि तय भयो। खहरे खोलामा पौडी खेल्न जाने। लौ त्यती राम्रो सँग पौडिन त आउदैन त्यही पनि जाने भनेपछी जाने। लगभग आधा घण्टा को ओरालो ओर्ले पछी पुगियो खोलामा। हिजोराती पानी साचिकै परेको रहेछ। खोला त ठुलै पो भएछ!

खोला को छेउमै रोपाइ हुँदै थियो। त्यही छेउमा कपडा खोलेर खोला तिर हाम फालियो। केहीबेर त त्यही पौडी खेलियो। केहीबेर पछी भने अली ठुलो रह को खोजी मा अली पर नै पुगियो। अनी भेटियो पनि र दिन भर मज्जाले पौडी खेलियो। अझ मैले त त्यही दिन रोलिङ हान्न पनि सिके।

बिस्तारै बिहान को भातले काम गर्न छोड्यो। पेटमा मुसा दौडिन थाले। घाम पनि डाँडापारी पुगिसकेछ। फेरी त्यो उकालो पनि त उक्लिनु छ। अब घर फर्किने भनेर बिहान कपडा खोलेको ठाउँमा आएको त एउटा कपडा पनि छैन ! ल बर्बाद! केटाहरु सब चुपचाप एक अर्का को मुख हेर्न थाले। सबैको अनुहार मा एौटै प्रश्न थियो। कपडा खोइ? मलाई भने सगै अर्को पिर पनि थपियो। पाइन्ट को खल्ती मा राखेको घडी, त्यो पनि दुई हप्ता अघी बा ले काठमाडौं बाट ल्याइदिनुभको पहिलो घडी।

एकछिन पछी त्यही नजिकै धान रोप्दै गरेका खेताला लाई सोध्न  हामी मध्यको एक जना साथी लाई पठाइयो। केही बेर पछी उस्ले खबर लिएर आयो। कुरा के भएछ भन्दा: हामीले कपडा खोलेकै ठाउँ को नजिकै उनिहरुको हली ले पनि कपडा खोलेर राखेको रहेछ अनी दिउसो चुरोट खान भनेर खल्ती हेरेको त चुरोट पनि छैन रे! पैसा पनि छैन रे! अनी नजिकै हाम्रो कपडा देखेपछी हामीले नै चोरेको हुनु पर्छ भनेर सबै कपडा लिएर गएछ।

अब हामीले चोरेको त होइन। नबिराउनु नडराउनु! भनेर फेरी त्यही साथी लाई पठाइयो हली भए तिर। साथी ले गएर हाम्रो कपडा खोइ भनेर के सोधेको थियो मुला हली ले त गोरु चुट्ने लौरी ले पिडउलामा बजाइ हालेछ। कपडा लिन गएको साथी आँखा भरी आसुँ लिएर आयो।

अब गर्ने के? सबै जना अन्योल मा परीयो। घाम डुबिसक्यो। कट्टु मात्रै लगाएर घर जाने कुरा पनि आएन। अझै मेरो त घडी पनि छैन। घरमा गएर के भन्ने।

केहीबेर पछी सबै सँगै हली सँग कुरा गर्न गइयो। अनी हामीले चोरेको होइन नपत्याये हामी सबै को कट्टु छामे हुन्छ।हामीले पैसा लुकाउन र हलीले छाम्नलाई हाम्रो कट्टुमा खल्ती पनि त हुनु पर्‍यो । बरु हाम्रो खल्तीमा पनि घडी र अली अली पैसा छ हाम्रो कपडा दिने भए दिनुस नत्र हामी घरमा भन्दिन्छौ भनेर भने पछी हलिले कपडा को पोको हामीलाई दियो। हत्तपत्त आफ्नो पाइन्ट झिकेर खल्ती छामे एउटा…दुइटा…. तीनवटा! लौ कुनै खल्ती मा पनि छैन घडी त। साथीहरु को खल्ती मा भएको अलिअली पैसा पनि हराएछ। चोर ले सबै का खल्ती रित्याएछ।

अध्याँरो भैसकेको थ्यो। सबै जना चुपचाप घरतिर हिँडियो।

घर पुगेपछी डराउदै डराउदै सबै कुरा बा र आमा लाई भने। सोचे भन्दा फरक बा-आमा कसैले पनि गाली गर्नु भएन। आमाले भात खान दिनुभयो तर भात अरुदिनको जस्तो मिठो लागेन. आमाले दिने गालीको अचार जो थियन भात सँग अनी कसरी मिठो होस्। गएर खाट मा पल्टिए। निन्द्रा लागेन। घडीको याद आइरह्यो। रातभर लामखुट्टे कराइरहे!