August 22

कलर अफ लभ

समयको कुनै आवाज हुन्छ कि हुदैन मलाइ थाहा छैन, यदि हुन्छ भने समय यतिबेला मौन छ। भर्खरै सम्म टास्कर पार्कमा फुटबल खेल्दै गरेका सबैजना पार्कको लाइट अफ भएपछि आ-आफनै गुँड तिर फर्किसके। छेवैमा कुक्स रिभर आफ्नै लयमा बगिरहेछ।पार्क छेउको बेन्चमा बसेर म कसैलाइ पर्खिरहेछु।

कानमा हेड फोन जोडेको छु। गित बजिरहेछ , म पनि सँगै गुन गुनाइरहेछु……

सोचे जस्तो हुन्न जीवन। सम्झे जस्तो हुन्न जीवन।

जस्तो खोज्यो उस्तै हुन्छ। देखे जस्तो हुन्न जीवन।

पिडाहरु बटुलेर रोइरहुँ जस्तो लाग्छ।

खुसीहरु समेटेर हाँसीरहुँ जस्तो लाग्छ।

आँसु आँसु हुन्न जीवन। खुसी खुसी हुन्न जीवन……

मोबाइल बज्यो। उसको कल थियो, उठाँए। मैले हेल्लो पनि भन्न नपाउदै उ सोध्छे : कता छौ? म बेन्चबाट उठेर पछाडी फर्कीन्छु। उसले मलाइ देखेर होला फोन राख्छे र म भएतिर आउछे। मेरौ छेउमै बस्छे। सोध्छे: चकलेट खान्छौ? मैले खान्छु / खान्न केहि भन्न नपाउदै उ झोला बाट उसको फेवरेट टोब्लेरोन झिक्छे, मलाइ दिन्छे र मेरो पाखुरामा उसको टाउको अडेस लगाउदै उ पनि चकलेट खान्छे।

फेसबुक किन डिएक्टिभेट गरेको? उ सोध्छे। म भन्छु : गाएब हुने विचार गर्दैछु त्यसैले। प्याट्ट पिट्छे र भन्छे हावा कुरा गर्ने होइन, खुरुक्क एक्टिभेट गर्ने। उसले आदेश सहितको आग्रह गर्छे। फेरी हाँस्दै भन्छे, तिमिलाइ चलाउन मन नलागे मलाइ पासवर्ड देउ म चलाउछु तिम्रो फेसबुक। तिम्रो नेपालकी क्रस लाइ दुई दिन मा पट्याइदिन्छु! यति भनेर उ मज्जाले हाँस्छे!

हामि यो भन्दा पहिला पनि यो ठाँउमा धेरे पटक भेटेकाछौ। हामिलाइ भेट्न कुनै कारण चाँहिदैनथ्यो। तर आज उसलाइ भेट्न म सँग कारण थियो। म उसलाइ केहि भन्न चाहान्थे। उसलाइ हेर्छु, सधैझै खुसी छे उ। मैले उसलाइ केहि भन्ने आँट गर्न सकिन।

भोलिको प्लान के छ तिम्रो? भोलि साँझ मुभि जाँउ है! उसले सोध्छे।

कसरी भनुँ म उसलाइ कि म भोलि नेपाल जाँदैछु। नफर्किने गरी। कसरी भँनु उसलाइ दिउसो इमिग्रेसन को चिठी आएको थियो, तिन दिन भित्र अष्ट्रेलिया छोड भनेर। कसरी भँनु उसलाइ भेट्न आउनु अगाडी नेपाल जाने वन वे टिकट काटेर आएको हुँ भनेर।

उ फेरी मेरो अनुहारतिर हेर्दै सोध्छे, के भो आज तिमिलाइ?

मेरो रुम को एउटा चावि उसले थाहा नपाउनेगरि उस्को ब्याग मा राखें। उसको निधारमा किस गरें।

अब जाँउ है मैले भने, हुन्छ भनेर उसले सहमती जनाइ। उसलाइ छोड्न स्टेसन सम्म गँए। बाटोमा हात समातेर हिड्दै थियौं, उसले तिम्रो हात कति तातो, ज्वरो आको छ हो? भनेर उसको हत्केलाले मेरो निधार छामी। नाइ, केहि भाकोछैन। आइ एम फाइन! मैले भने।

उसलाइ स्टेसन छाडेर फर्केपछि मैले मोबाइल अफ गरेको छु। एउटा चिठी लेखेर टेबलमा राखेको छु। मलाई थाहा छ उ याँहा आउनेछे, चिठी पढेर खुब रुनेछे र मलाई उसले कहिल्यै माफ गर्ने छैन।

October 31

के यो माया हो? A WALK to REMEMBER

जहिले यस्तै हुन्छ। लेख्न थाल्यो तब लाग्छ, पढेके छैनस त मुला के लेख्छस? लेख्नु भन्दा पहिले अध्यन गर भैरे अध्यन गर!

कुरा ठिक हो। तर जब मन भारी हुन्छ र मनमा सय थरी कुरा खेल्न थाल्छन तब भारी बिसाउन मन लाग्छ। लेख्न मन लाग्छ। लेख्दा मन हल्का हुन्छ्।

म कुनै कुरा जान्ने भएर लेखेकै होइन। न म कुनै लेखक हो, न मैले लेखेका कुरा कुनै साहित्य हुन। यथार्थमा म एउटा गतिलो पाठक पनि हुन सकेको छैन।

यसअघिका केहि पोष्टमा कथाजस्तो केहि लेख्न खोजेको हो तर म नाथे, जसले कसैलाइ प्रेम गरें तर बुझाउन सकिन। जसलाइ प्रेम गर्छु उसलाइ भन्न सक्दिन। तर माया र प्रेम बारे कथा लेखदिन्छु। हैट यो कस्तो बिरोधाभास!

त्यो दिन मिस्टिका र म केहिबेर त्यहि कुनाको टेबलमा बसेर कुरा गर्यों।  सामान्य कुराकानी हुदै थियो, स्पिकरमा सुर्के थैली खै बज्न थाल्यो। यति बेला सम्म हामि दुबैले एक अर्का बारे जान्नुपर्ने सामान्य कुरा हरु थाहा पाइसकेका थियौ।

उसले भनि “let’s go for dance”

मैले भनें “मलाइ नाच्न आउदैन”। why don’t we go for a walk ?

उसले केही सोचे जस्तो गरी।

मैले भनें – Hope you don’t have any problem to walk in your high heels!!

उ हाँसी र भनि ok! Let’s go for a walk. A walk to remember!

रातको १० बजेको थियो। स्ट्रिट लाइट ले बाटो उज्यालो बनाएको थियो। मौसम चिसो थियो। उ थिइ। म थिए। हामी भित्र अलिकती नशा थियो। म भित्र उ प्रति अंकुराउदै गरेको प्रेम थियो।(थाहा छैन! सायद उ भित्र पनि??)

केहि बेर मौन रहेरै हाम्रा पाइलाले सडक नापे। केहिबेर पछि मौनता तोड्दै मैले उसलाइ सोधेँ- so how’s life?

उ केहिबेरसम्म केहि पनि बोलिन र केहिबेर पछि मलाइ नै प्रतिप्रश्न गरी – what is life?

सायद हामि दुबैजनाको जीवन को परिभाषा फेरिएको थियो।बिर्सिसकेका थियौ वा थाहा थिएन हामिलाइ what is life जीवन के हो?

फेरी पनि उसैले भनि – मलाइ आजभोलि घर को यादै आउदैन। मलाइ घरको माया नालाग्ने होइन लाग्छ। मम्मी, ड्याडी, भाइ सबैको माया लाग्छ तर यादै हुदैन।म सबथोक बिर्सिन्छु। म मान्छे बाट मेसिन हुदैछु जस्तो लाग्छ। मलाइ घरमा सबेले पिन्चे भनेर गिज्याउथे। याहाँ आएपछि पनि पहिले पहिले धेरै पटक रोएँ तर आजभोलि मेरा आँखामा आँशु रित्तिए झै लाग्छ। म अन्तिम पटक कहिले रोएकी थिए मलाइ याद छेन।

नेपाल कहिले जाने सोच्दैछौ?- मैले सोधे।

Next week – उसले भनि।

कति महिना बस्ने प्लान छ? कहिले फर्किन्छौ?

उसको फोन बज्यो। साथिको कल रैछ। उसले “ल म आइहाँले” भनेर फोन राखी।

हामि फर्कियौ। छुट्ने बेला उसले भनि

I am going to Nepal next week and I am taking your book (Mystica) with me.

मैले भने; That’s ok! No worries!

र उसले भनि- And I am not coming back! Take care sachin! See you in Nepal.

र आज २ महिना भयो उ नेपाल गएको। म आफैलाइ दिनहुँ सोध्छु- what is life?

Category: story | LEAVE A COMMENT
October 3

बिम्ब! (उस्ले नपढ्ने कविता)

घामले सवेरै झ्यालवाट चिहाएर

सोधेको थियो एउटा सुनौलो प्रश्न

म कि उ?

मैले तिमिलाइ देखाँए।

हो त्यहि दिन देखि हो

घामले मेरो छाँया कालो बनाएको।

 

फूलले मुस्कुराउदै सोधेको थियो एउटा सुगन्धीत प्रश्न

म कि उ?

मैले भने : उसकै मुस्कान राम्रो!

त्यहि दिन देखि उम्रेका हुन फूलको हागाँमा काँडा

र देखिन थालेको हो बिहान बिहान फूल मा शीतका आँशु!

 

बतासले सुसेल्दै सोधेको थियो मलाइ

म कि उ?

मैले तिम्रो नाम सुसेलिदिए!

त्यहि रात हो हुरिले मेरो घरको छानो उडाएको।

 

जाँउ सँगै दुनिया घुमौला बादलले भन्थ्यो

मैले उसलाइ एक्लै छाडेर जान्न भनें।

त्यसै दिन देखि हो

छोप्न थालेको कालो बादलले आकाश

र पर्न थालेकोहो मुसलधारे पानी।

 

जाँउ सगैँ  भेटाइदिन्छु समुन्द्र

नदि ले भन्थ्यो।

म तिमिलाइ छोडेर बग्दिन भने।

त्यसै दिन देखि हो

पानि ले आफ्नो रगँ लुकाएको।

 

मैले सागर देखेको छैन

तर भन्न सक्छु

तिम्रा आँखाको गहिराइ

सायदै कुनै सागरमा होला।

वर्षौको तपस्या पछि मिल्ने वरदान

तिम्रा सामिप्यतामा हुने आभास हो

तिमि आफैमा एउटा सुन्दर फूल हौ।

तिमि बिम्ब हौ पुरै प्रकृतिको!

August 5

बेपत्ता मुस्कानहरु

हिजो बेलुका कामबाट घर फर्कंदै थिएँ। चोकमा मान्छेको भीड रहेछ। हेर्दै हिँड्दै थिएँ। एक जना बुढी आमाले लिएको प्ले कार्डमा आँखा ठोक्किए।

मेरो पाइला रोकिए। ती बुढी आमाको नजिकै गएँ र प्ले कार्डमा  मुस्कुराइरहेको ब्ल्याक एन्ड ह्वाइट फोटो हेरेँ। त्यो मुस्कान  विजयको थियो।

म पाँच कक्षा पढ्दाको कुरा। मैले पढ्दै गरेको स्कुल बन्द भयो। घरमा आमालाई सोध्दा ‘माओवादीले बन्द गराका हुन् तेरो स्कुल।  माओवादीले भनेजति चन्दा दिन सकेनन् बन्द अर्दिए’ भन्नुहुन्थ्यो। स्कुल बन्द भएपछि सर,मिसहरु कता जानुभयो थाहा भएन ।

म  ६ क्लास पढ्न सरकारी स्कुल जानुपर्ने भो। खुसीको कुरा के थियो भने सरकारी स्कुलमा मैले र मेरो कक्षाबाट आएका सबैले सिधै ७ कक्षामा भर्ना पायौँ । डम्बरबाहेक, उसकी बहिनी पनि सात कक्षामै पढ्ने रहिछ। त्यसैले ऊ  ७ कक्षामा पढ्न मानेन र  सिधै ८ मा भर्ना भयो।

एक दिन खाजा खाने छुट्टी सकिसकेको थियो। पालेदाइले पाँचौ पिरिएडको घण्टी पनि बजाइसक्नु भा’थ्यो तर, टिकाराम सर आउनुभएन। केही बेरपछि एक जना नयाँ मान्छे कक्षामा आयो। उसले दाह्री पालेको थियो। एउटा पुरानो झोला बोकेको थियो। ऊ कक्षामा छिरेपछि सबै जना उठे। तर, उसले बस पनि नभनी सबै जना अफिस कोठा अगाडि आउनुहोला भनेर  गयो।

अफिस अगाडि स्कुलभरिका विद्यार्थी जम्मा भएका थिए। दस कक्षाका केटाहरु तन्कीतन्की हेर्दै थिए। खास खुस गर्दै भीडभरि एउटा कुरा फैलियो, ‘भित्र त दुई जना माओवादी छन्। विजय र अर्को एक जना।’

केही बेरपछि एउटा केटो ढोकामा देखापर्यो र भीडतिर हेर्दै मुसुक्क हाँस्यो। अघि चलेको हल्ला साँच्चै रहेछ। ढोकामा विजय थियो। गाढा नीलो रंगको क्याप, कालो ज्याकेट, पुरानो जिन्स प्यान्ट लगाएको थियो। उसले अफिस कोठाबाट हातमा तीन वटा फोटो लिएको थियो, फ्रेममा राखेका।

मलाई पहिलो पटक मेरो कक्षाको साथी अर्जुनले चिनाएको थियो। ऊ त्यही हो दस कक्षाको फस्ट ब्वाई विजय दाइ, क्या जान्ने हुनुहुन्छ पढाइमा, हाम्रो घर नजिकै हो म नजानेको होमवर्क विजय दाइलाई नै सोध्छु भनेर।

सधैं हाँसी राख्ने। सधैं फस्ट हुने र पढ्न जान्ने भएकाले सरहरु सबैले मन पराउने। सबै सरहरुले कक्षामा विजयजस्तो हुनुपर्छ भन्दै उदाहरण दिनुहुन्थ्यो।

बर्खे बिदा सकिएर स्कुल सुरु भएको एक हप्ता मात्र भएको थियो। आइतबारको दिन थियो। म स्कुल पुग्नेवित्तिकै अर्जुनले मलाई सुनायो- विजय दाइ त माओवादी हुनु भयो! हिजो राति उनीहरुसँगै जानुभयो। अरु कसैले भनेको भए म पत्याउँदैनथें होला तर अर्जुन त विजयको छिमेकी पनि थियो। पत्याउन कर लाग्यो।

पछि स्कुलभरि कुरा फैलियो। विजयका बा थिएनन्। मध्यरातमा आमाको सिरानीमा चिठी छाडेर ऊ बहिनीले पनि थाहा नपाउने गरी माओवादीसँग गयो। विजय माओवादी भयो। उसको बहिनीले चिठी पढेर सुनाउँदा उसकी आमा रोएको अर्जुनको घरसम्म सुनिएको थियो रे। तर, कसैलाई थाहा भएन उसले चिठीमा के लेखेको थियो? किन त्यसपछि विजयकी बहिनी स्कुल आउन छोडी? कसले बनायो विजयलाई माओवादी? किन बन्यो विजय माओवादी?

विजयले हातमा लिएका फोटोलाई पालैपालो फुटायो र विस्तारै सिसा पन्छाउँदै फोटो झिक्यो र भलिबल कोर्टतिर गयो। सबैजना उसैलाई पछ्याउँदै गए। उसले सबै जनालाई फोटो देखायो र छेउमा उभिएका पालेदाइसँग सलाई मागेर पालैपालो राजा महेन्द्र, वीरेन्द्र र रानी एेश्वर्या को फोटो जलायो। ऊ सँगै आएको मान्छेले ताली बजाउँदै ,राजतन्त्र मुर्दावाद भन्यो।  सँगसँगै सबैले मुर्दावाद…मुर्दावाद… भन्दै ताली बजाए।

ताली बज्दै थियो रानीको फोटो बल्दै थियो। दाह्रीवाला मान्छेले विजयलाई देखाउँदै कमरेडले केही कुरा राख्नुहुन्छ भन्यो। विजय थोरै अगाडि सर्यो र तीन मिनेटजति बुर्जुवा, सामन्ती, शासक, क्रान्ति, जनयुद्धजस्ता शब्द मिसाएर भाषण गर्यो र अन्तिममा सबै जनालाई कक्षामा गएर संस्कृत किताब ल्याउन भन्यो। अघि डराइडराइ आएका विद्यार्थी अहिले दौडेर कक्षामा गएँ। म पनि कक्षामा गएर झोलामा हेरेको मैले संस्कृतको किताब ल्याउन बिर्सेको रहेंछु। आज धन्न विजय आयो र गुरुको पिटाइ खानबाट जोगिएँ भन्ने लाग्यो।

भलिबल कोर्टमा किताबको थुप्रो बनिसकेको थियो। विजयले त्यसमा आगो लगाएपछि फेरि एकपटक तालीको वर्षात् भयो। कसैले भिडबाट सिठी पनि बजायो र केहीबेर माओवादी जिन्दावाद……..राजतन्त्र मुर्दावादको नारा घन्कियो। सरहरु सबै अफिस कोठाको झ्यालबाट यो सब हेरिरहनु भएको थियो।

स्कुलमा किताब जलाएको दुई दिनपछि हराएको कपी खज्दै गर्दा मैले संस्कृत किताब देखें । एकैछिन त के गर्ने गर्ने भयो। केही बेरपछि किताबको गातामा भएको सरस्वतीको फोटोलाई कैंचीले मिलाएर काटेँ। किताबको बीचमा राखेको मयुरको प्वाँख पनि झिकेर अंग्रेजी किताबमा सारेँ। लुकेर भान्छा कोठामा हेरें। चुल्होमा भात पाक्दै थियो। आमा तरकारी काट्दै हुनुहुन्थ्यो। नजिकै गएर बसें। आमाले नदेख्ने गरेर सलाई खल्तीमा हाले र घर पछाडि गएर संस्कृत किताबलाई ॐ स्वाहा पारेँ।

त्यतिबेला म आठ कक्षामा पढ्थे। माघको महिना हुनुपर्छ, म कक्षामा बसेर आँखाले बाहिरको घाम ताप्दै थिएँ। बलराम सरले सामाजिक विषयमा विश्वयुद्ध हुनुका कारण पढाउँदै हुनुहुन्थ्यो। दस जनाजति सेना स्कुलको गेटबाट छिरे। अन्तिमका दुई जना गेटमै उभिए। दुई जना अफिसकोठा मा छिरे बाँकी बाहिरै बसे।

एक छिनपछि हेडसरलाई लिएर सेना हाम्रै कक्षा कोठातिर आए। हेडसरले उहाँ नै हो बलराम त्रिपाठी सर भनेर सेनालाई देखाइ दिनुभयो। सेनाले बलराम सरलाई समातेर बाहिर निकाले। हामी सबै पछिपछि निस्कियौं। अरु कक्षाका सर र विद्यार्थी पनि बाहिर निस्के र चुपचाप हेरिरहे। गेटनिर पुर्याएपछि सेनाले कालो कपडाको सानो बोराले बलराम सरको टाउको छोपे र हात पछाडि लगेर हत्तकडी लगाए। आफैसँग लिएर गए।

स्कुल छुट्टी भयो। घर फर्कने बेला मेरो मनमा धेरै प्रश्नहरु थिए। बलराम सरलाई  सेना ले किन लग्यो? के बलराम सर साँच्चिकै माओवादी हो? हो भने माओवादीलाई सेनाले के गर्छ? बेलुका भात खाने बेलामा सबै कुरा आमालाई भनें र मनका सबै प्रश्न सोधें। ‘खै बाबु जमाना खराब छ, जसले जे गरे पनि भको छ,’ आमाले भन्नुभयो।

सामाजिक शिक्षा विषयको बलराम सरले पढाउन बाँकी हामी आफैले पढेर परीक्षा दियौँ। आठ कक्षाको जिल्लास्तरीय परीक्षाको रिजल्ट पनि आयो। म पास भएँ। तर, बलराम सरको कुनै खबर थिएन। हल्ला त मान्छेहरु अनेकथरी गर्थे तर यथार्थ कसैलाई थाहा थिएन।

म नौ कक्षा पढ्न पोखरा झरेँ। भाडाको कोठामा बसेर स्कुल पढ्न जान थालेँ। धेरैजसो शुक्रबार म घर आउँथे र दुई रात घरमा बसेर आइतबार बिहानै म स्कुल भेट्टाउन पुग्थें। बिहानै काफलघारीको ओरालो झरेर विजयपुर खोला तरेपछि महेन्द्रपुल पुग्ने बस पाइन्थ्यो। अरुबेला खासै समस्या नभए पनि बर्खाको बेला विजयपुर बढेर तर्न नसकिने हुन्थ्यो। खोलामा पुल थिएन। खोला तारिदिने मान्छे कुरेर बस्नु पर्थ्यो।

एउटा आइतबार बिहानै  काफलघारीको ओरालो झर्दै थिएँ। कसैले पछाडिबाट बोलायो।

ए भाइ एकैछिन पर्ख त!

पछाडि दुई जना मान्छे थिए। नजिकै आएपछि एक जनालाई मैले चिनिहालेँ। त्यो विजय थियो। अर्को मान्छेलाई भने मैले चिन्न सकिनँ। विजयले झोला बोकेको थियो। दुबै जनाका जुत्ता र कपडा पुराना थिए। अर्को मान्छे हिँड्न अप्ठ्यारो भएझैं विजयको पछिपछि हिँड्दै थियो।

विजयले सोध्यो, ‘कहाँ जान लाग्यौ भाइ यति बिहानै?’

मैले भनें, ‘ स्कुल जान लागेको दाइ।’

‘हामी पनि त्यतै जान लागेको, सँगै जाउँ न त हुन्न?,’ विजयले भन्यो।

मैले  ‘हुन्छ’ भनें।

‘भाइको नाम के हो ?,’ विजयले सोध्यो।

‘सचिन,’ मैले भनें।

मनमा कता-कता डर त लागेको थियो तर मैले पनि  सोधें, ‘तपाईं विजय दाइ होइन र?’

उसले हाँस्दै  ‘हो, कसरी चिन्यौ?’ भनेर सोध्यो।

‘म पनि तपाईं पढेकै स्कुलमा पढेको हो नि! यो सालबाट हो चेन्ज गरेको। तपाईंले स्कुलमा किताब जलाउँदा म त्यहीँ थिएँ,’ मैले भनें।

‘ए हो’ भन्दै ऊ मुस्कुरायो।

सँगैको अर्को मान्छे अघिदेखि नै  चुपचाप हाम्रो पछिपछि खुट्टा खोच्याउँदै हिँड्दै थियो। तल चौतारीमा पुगेपछि विजयले एकैछिन बसौं भाइ भन्यो। हामी तिनैजना चौतारीमा बस्यौं। उसले स्कुल र सरहरुको बारे सोध्यो। मैले थाहा भएजति सबै कुरा भनें। बलराम सरको कुरा पनि भनें। बलराम सरको कुरा सुनेपछि उसले भन्यो, ‘मारे साले कुकुरहरुले सरलाई। ब्यारेकभित्रै यातना दिएर मारे भन्ने खबर छ पार्टीमा। लाश पनि दिएनन् कुकुरहरुले।’

यसो भन्दा ऊ एकनाशले तल विजयपुरको खोला हेरिरहेको थियो। केहीबेर मौनता छायो। मौनतालाई तोड्दै विजयले अर्को मान्छेतिर हेरेर अब जानुपर्छ कामरेड विस्तारै हिँड्नुस् भन्यो। अर्को मान्छेले लामो सास फेरेर उठ्यो र हिँड्न थाल्यो।

खोला बढेको थियो। म एक्लै तर्न सक्दिनथें। विजयले पाइन्ट खोलेर झोलामा राख्यो र जुत्ता खोलेर हातमा लियो। मैले पनि त्यसै गरें। विजयले उसको हात राम्रोसँग समाउन भन्यो। मैले समातें र हामीले खोला तर्यौं। विजय झोला र जुत्ता त्यहीँ छाडेर फेरि पारि गयो र अर्को मान्छेलाई बुइ बोकेर खोला तार्यो।

एकैछिन कुरेपछि बस आयो। सिट खाली थियनन्। हामी तिनैजना उभियौं। विजयले मेरो पनि भाडा तिरीदियो। मनमनै खुसी हुँदै थिएँ। एक्कासि मेरो खुसी डर बन्यो, जब बसको कन्डक्टरले ‘अगाडि चेकिङ छ। आ-आफ्नो झोला र सामान लिएर झर्नुस् हामी अगाडि हुन्छौं’ भन्यो। मेरो मनमा ढ्यांग्रो बज्न थाल्यो। दिमागले केही सोच्न सकेन। विजय बसबाट झरिसकेको थियो, म पनि झरें। अर्को मान्छे झर्न बाँकी नै थियो। म छिटोछिटो चेकिङतिर गएँ। झोला देखाएँ र बस चढेँ। एक-एक गर्दै बसमा अघिका सबैजना आए। आउन बाँकी विजय र अर्को मान्छेमात्रै थिए।

‘कोही आउन बाँकी छ भने भन्नुस् नत्र बस जान्छ,’ कन्डक्टरले भन्यो।

म केही बोल्न सकिनँ। पछाडि फर्किएर चेकिङतिर हेर्न पनि सकिनँ। जाम-जाम गुरुजी भनेको आवाज सुनें। बस हुइँकियो। बसमा गोपाल योन्जनको स्वर गुन्जियो, ‘देशले रगत मागे …।’

भीडको बीचमा ठूलो ब्यानर थियो। ब्यानरमा मैले चिन्ने तीन वटा अनुहार थिए। बलराम सर, विजय र अर्को मान्छे। ब्यानरको माथि लेखिएको थियो, ‘राज्यद्वारा बेपत्ता पारिएकाहरु।’

भीडबाट निस्केर फेरि तिनै बुढी आमानजिकै गएर सोधेँ, ‘तपाईंको छोरी खै त आमा?’

बुढीआमाले प्लेकार्ड पल्टाएर आफ्नी छोरीको ‘ब्ल्याक एन्ड ह्वाइट’ फोटो देखाइन्।

Category: story | LEAVE A COMMENT
March 29

जा-गीर जिन्दगी

आज साँझ तिर एकजना पुरानो साथि भेटियो।हामि दुवै पोखरामै भएर पनि भेट कमै हुन्छ। सोध्यो ,के गर्दै छस् ? त्यहि कलेजमै छु यार! मैले भने।

प्रोफेसर भछस् है? उसले हाँस्दै भन्यो। म केहि बोलिन।

जा-गीर गर्न थालेको २ बर्ष पुग्यो। म एउटा कलेजमा काम गर्छु। कलेजमा काम भन्न नभ्याउदै धेरै ले सोध्छन् ,पढाउने हो?

होइन! म त्यो कलेजमा Wi-Fi को पासवर्ड चेन्ज गर्ने मान्छे हुँ।अनि फेसबुक पेज को एडमिन पनि ! मेरो काम सबै भन्दा सरल तरिकाले बुझाउने सायद यिनै कुरा होलान।

यो जा-गीर सुरु गर्दा म पढ्दै थिँय।मेरै उमेरका बिध्यार्थिहरु थिए, लास्ट सेमेष्टर का २-४ जना त मलाइ तिमि भनेर बोलाउथे। मलाइ के थियो र तिमि भने पनि तपाँइ भने पनि, म त  जागिर पाएर मख्ख जो थिए। IT को स्टुडेन्ट मलाइ हाइ स्पिड इन्टरनेट थियो, एउटा घुम्ने कुर्सि, टेबल र एउटा लेनोभो को ब्रानडेड डेस्कटप थियो। अनि महिना दिन पुग्ने बित्तिकै स्यालरी!

साथि बिजनेस गर्छ। बिजनेसम्यान हो।भर्खरै उत्तर को मित्रराष्ट्र  भ्रमण बाट फर्केको छ ! साथिले मैले गर्ने काम थाहा नभएर मलाइ प्रोफेसर भनेको भने होइन! थाहा भएर नै भनेको हो!

जा-गिर गरेको ६ महिना जति भएको थियो। खल्तिमा अलिकति दाम थियो।दशैंको बेला थियो। साथिहरु सँग घुम्न जाने प्लान रेडी थियो। लिभ एप्लिकेसन पनि रेडि बनाएर हाकिम सँग बिदा माग्न गएँ। हाकिमले पनि रेडिमेड जवाफ दिनु भयो! बिदा मिलेन। पहिलो पटक लाग्यो जागीर भनेको जा-गीर रहेछ।जानु र गिर्नु नै रहेछ!

बिहान आठ बजे मेरो ड्युटी सुरु हुन्छ। जागिर को पहिलो बर्ष र कलेज को अन्तिम दुइ सेमेष्टर मैले मेरो कलेजको लास्ट क्लास कहिले पढिन।जा-गीर मा पन्कचुअल जो हुनु थियो!,११ बजे तिर एकछिन हात मुख जोड्ने फुर्सद मिल्छ। साँझ ४ बजे छुट्टी हुन्छ। दैनिक ब्ल्याक टि का कम्तिमा ३ वटा र बढिमा ५ कप रित्याउछु। २ बर्ष भयो यहि रुटिन मा जिन्दगी चलेको!

दिनै भरी कमप्युटर को अगाडि बस्ने भएकाले आँखा कमजोर भए कि भन्ने डर ले एक पटक आँखा अस्पताल पनि पुगियो ! धन्न अहिले सम्म ठिकै रहेछन्। फर्किदा एउटा चश्मा पनि कीनेर ल्याएको हो तर लगाउने बानी नभएर होला धेरै जसो झोला मै हुन्छ।

साथिले ६ जना लाइ रोजगार दिएको छ। उसकोमा हेल्पर काम गर्नेको स्यालरी मेरो भन्दा धेरै छ। उसलाइ नाकाबन्दी ले सामान रोकिएको पिर छ।मलाइ तलब नबढेको।

मैले  जागिर र व्यापार को अलिकति भिन्नता मात्रै लेखेको हुँ। मैले आफुलाइ त्यो साथि सँग दाँज्न खोजेको होइन! दाँज्नु मुर्खता हो थाहा छ मलाइ! मलाइ म हुनुँ मै गर्व छ र साथिलाइ उ हुनुमै। हरेक मान्छे को आ-आफ्नै जिन्दगी छ र आ-आफ्नै कथा छन् ! साथिले झस्काइदियो, साथिको दायित्व पनि हो त्यो!  त्यसैले उ जोडियो यो कथा मा!

२ बर्ष भन्दा धेरै यो जा-गीर गर्दिन भन्ने सोच थियो तर सोच भन्दा बलियो समय रहेछ! हेर्दै जाँउ समयले कता डोर्याउछ।

यी २ वर्ष त्यति सस्तो मा खेर गएका पनि छैनन्।

मैले यहि जा-गीरमा धेरै कुरा सिक्ने अवसर पाएको छु। सिकेको छु। र अझै  धेरै सिक्ने छु।

म हाँस्न पनि नजान्ने मान्छे , तर मैले सबै जाना बाट तिरेरै नसकिने मुस्कान पाएको छु।सबै को नाम लेख्न मन लागेको थियो तर लिस्ट लामो बन्यो त्यसैले राखिन। तँपाइ सबै प्रति आभारी छु। खुसि छु।

सबैलाइ धन्यावाद! बिशेष धन्यवाद त्यो साथिलाइ ! उ सँग भेट नभएको भए सायद म झस्किने थियन होला मैले यो लेख्ने पनि थिएन होला!

तपाँइ सबैको जय होस!

 

March 24

अल्छीका चिप्लीएका कुरा!!

हो म चीप्लीएको हो! लडेको हो! गुल्टीएकै हो! नराम्रोसँग पछ्छारीएकै हो!

अरु कसैले धकेलेको पनि होइन। आफ्नै जुत्ता को तुना टेकेर, जुत्ता चिप्लीएर लडेको हो।

यसो भन्दा त जुत्तालाइ गाली गरेझै भयो! बिचरा थोत्रा जुत्तालाइ पनि दोष नदिउँ।

म आफै हिड्न नजानेर लडेको हो। मुख्य कारण त म आफ्नै दिमाग को जोगी नभइ अर्काको दिमाग को राजा बन्न खोज्दा पल्टेको हो।

लडेको यो पहिलो पटक भने होइन। पहिला पनि लडेकै हो ! यो पाली खुट्टा मर्किने गरेर चिप्लीयो हेरौं कहिले सम्म निको हुन्छ।

जाडो लगभग सकयो । गर्मि पनि छैन। लामखुट्टे हरु पनि वार्मअप गर्दै होलान फिल्ड मा देखिदैनन्।  यो समयमा त पल्टे पछि निन्द्रा लाग्नु पर्ने हो नि! के गर्ने लाग्दैन।

निन्द्रा लागेन भनेर सधैं कति त्यहि कफी लाइ दोष दिनु । यो पाली को दोष फ्रस्ट्रेसन लाइ ! यो फ्रसट्रेसन ले फ्रसटु बनाइ सक्यो यार! अरुबेला रात भर भुक्ने कुकुर साँझ तिरै निदाँउछन कि के हो खै भुकदैनन्। स्कुल को पाले दाइले राती को बाह्र बजे बाह्र पटक बजाएको घण्टी मेरै लागि अब त सुत भनेर बजाएझै लाग्छ।

आँखा खोलेर देखेका सपनाहरु पुरा नभए पछी सपना देख्नैका लागी आँखा चिम्लिन पनि मन नलाग्ने रहेछ। जब सपनाहरु आफ्ना नितान्त व्यत्तिगत हदैनन् अरुका सपना सँग पनि जोडिन्छन् सपनाहरुको आकार बढ्दो रहेछ, ठुला  हुने रहेछन् र ति टुक्रिदा,भत्कीदा आवाज पनि चर्को आउने रहेछ। लामो समय सम्म गुन्जीने रहेछन् । गुन्जिरहेछन्!! हजार सपनाहरु को माया लागेर आँउछ!!

 

जे होस बिहान चाँहि साढे सात नबजी उठिदैन 🙂 !!

 

 

March 21

मन पर्ने कुरा!!

किताब हरु सँग यसरी माया बसेको छ कि, डिप लभ भन्छन् नि हो त्यस्तै।

कुनै बेला हात मा परेका सबै किताब एक- दुइ बसाइ मा सकिदिन्थे। त्यो किताब को भोक थियो होला सायद तर अहिले किताब सँग प्रेममा छु अनि भोक र प्रेममा फरक त हुने नै भयो।

अहिले किताब किन्नु अगाडी डर लाग्छ कतै याहि किताब को कारणले मेरो किताब प्रति को माया घटाउँछ कि भनेर।

यो मेरो ब्लग हो। याँहा म मलाइ मन परेको वा मन नपरेको जे लेख्न पनि सक्छु। तँपाइले पढ्नै पर्छ  भन्ने पनि छैन। तर समय र पैसा खर्च गरेर एउटा पाठक ले कितब पढिसकेपछी उसले त्यस बाट केहि आशा गर्नु त पाठक को अधिकार हो।

किताबकै विषयमा दिल निशानी मगर ले www.onlinekhabar.com मा लेखेको राम्रो लेख छ फुर्सद छ र किताब पढ्ने बानी छ भने पढ्नु होला लिन्क याँहा छ।

http://www.onlinekhabar.com/2016/03/403029/

फिल्म् का कुरा।

राती सुत्नु अगाडि फिल्म हेर्नु आजभोली दिन चर्या भएको छ।

कुनै बेला फिल्म मनोरन्जन को लागि मात्रै  हेर्ने मेरा लागि अहिले आएर बिल्कुलै फरक भएका छन् फिल्मका हेर्नुको कारण र परिभाषा।

फिल्म हेरेर सके पछि म केहि नयाँ सकरात्मक कुरा सिक्न सकुँ। मैले सुनेका कथा हरु फिल्ममा हेर्दा जिवन्त लागुन्। मैले नसुनेका कथा र ठाउँ हरु फिल्म मा म हेर्न सकुँ र त्यँही पुगेको महशुस गर्न सँकु । केही मोटिभेसन र इन्सपिरेसन मिलोस। मलाइ लाग्छ यति आश दर्शकले गर्नु पर्छ यदि राम्रो सिनेमा हेर्ने हो भने। हालै मात्र हेरेको एउटा डकुमेन्ट्री छ “ Racing Extinction” मिल्छ भने एक पटक हेर्ने सुझाव दिन्छु। र त्यहिँ बाट एउटा मन परेको  लाइन छ। “The whole world is singing, but we’ve stopped listening.”

अब अलिकती गित को कुरा।

धेरै वर्ष सम्म तँलाइ मन पर्ने गित कुन हो भनेर सोध्दा म सँग उत्तर थिएन जब “ फुल को आँखा मा फुलै संसार” आयो मैले मेरो उत्तर भेटें त्यस पछि “full circle” का गित थपिए र हाल आएर अर्को एउटा नाम थपिएको छ “ बिम्बआकाश ” Bartika Eam Rai का यि गित हरु साँचैं राम्रा छन्। युट्युब लिन्क तल छ सुन्नुहोला!

https://www.youtube.com/user/Thenamastegirl48

जाँदा जादै,

आज विश्व कविता दिवस रहेछ। मैले लेखेका यि कुरा लाइ कविता भन्न मिल्छ मिल्दैन मलाइ थाहा छैन तर एउटा यस्तो छ।

प्रयाश

हरेक दिन घामको न्यानो सँगै
बिलाउने सीतको थोपा जस्तै
मेरा प्रयाशहरु
बाफ बनेर हराउछन्
आकाश मा कतै
उड्छन ति हावाको झोका सँगै
अनी ठोकिन्छन ति अग्ला पहाड र हिमाल सँग।

तर पनि म थाकेको छैन
अन्धकार रात मा
फेरी झर्छु म
त्यँही कतै
घरको पालीमा,
बगैचामा,
फूल र पातमा।

म फेरी झरेकोमा गुनासो गर्छ त्यो धुलो
जो दिनभर फुरुङ्ग भएर उडेको थियो।
गुनासो गर्छन् ति मनहरु
जस्को कपडा उध्रेको थियो।
अनी गुनासो गर्छन् ति जल्नेहरु
जो मेरै कारण बल्नु परेको थियो।

अर्को बिहानी सँगै
फेरी घाम उदाँउछ मेरा विरुद्धमा
तर पनि म खुशी छु
घामको सुनौलो चम्काइमा।
त्यो ट्ल्काइमा।
हावासँगको त्यो उडानमा
सुनसान रातको त्यो प्रतिक्षामा
फेरी झर्ने आशमा
त्यही कतै फूल अनी पातमा।