January 5

म को हुँ?

म को हुँ?

‘खोइ!’ ….. को हो को?
यसको कुनै उत्तर छ जस्तो त मलाइ लाग्दैन तर पनि यसो सोच्ने प्रयास गर्छु मेरो बिशेष कुनै परिचय छ कि!

मेरो नाम सचिन – यो त मेरो मात्र होइन क्या रे, जस्को पनि त हुन सक्छ नि। यो संसारमा सचिन नाम गरेका कति होलान कति ! सम्झिन सजिलो हुन्छ भनेर कुनै एक नाम दिएको होला, त्यसमा कुनै बिशेष “म” पक्कै लुकेको छैन ।

मेरो शैक्षिक योग्यता – त्यस्ता डिग्री सर्टिफिकेट पनि त लाखौँसंग होला । अब डिग्रीलाइ कसरि मेरो परिचय हो भन्नु?

तस्विरमा देखिएको मान्छे – त्यो पनि कहिले कस्तो, कहिले कस्तो देखिन्छ । अनि आजकलका तस्बिरको के कुरा गर्नु? कम्प्युटरले गर्दा सबै ब्राड पिट । कहिले त आफैले आफैलाई चिन्न गार्हो पर्छ ।

मेरो सोचं – त्यो पनि बिहान खुशीको बहार हुन्छ, साझं दुखको बर्षा । कहिलेकाहिँ त एक दिन एउटा ब्लग लेखेर पोस्ट गर्छु अनि अर्को दिन ‘धत् त्यस्तो किन सोचेछु’ भनेर दंग हुन्छु – त्यस्तो सोचको के बिश्वास गर्नु ? मैले नै बिश्वास नगरेपछि तपाइँले त गर्ने कुरै भएन ।

त्यसो भए म को त?

सिधा उत्तर – अहिले सम्म त्यहीं चिन्ने प्रयास गर्दै छु ।

यसलाई सरल तरिकाले भन्नु पर्दा…….. ’म साधारण मान्छे । होइन क्या रे, केहि असाधारण गुणहरु पनि छन् ।’ राम्रा कि नराम्रा ? – त्यो त भन्न सक्दिन, तर ति अलि फरक छन् अरु भन्दा | तर, ति पनि परिवर्तनशिल छन, समय संगै, अनि परिस्थिति संगै |

जन्मिसकेपछि केहि चाँही गर्नु पर्छ है भन्ने सोचं भने पक्कै छ । आफ्नो लागि? ‘होइन’ ………. बाँच्न त कमिला पनि बाँचेको छ नि – ‘अरुका लागि’।

एउटा नाम त सानैदेखि पाएको छु – सचिन । जस्को अर्थ मलाई पनि थाहा छैन!
तर मेरो जीवनको अर्थ? – ‘त्यो खोज्दै छु ।’ जीवनको अर्थ भेटिदैन….. त्यो सबलाई थाहा छ । तर खोजीरहेको छु, सायद खोज्नु नै अर्थ पाउनु हो – त्यसैले खोजीरहने छु ।

अब गफ बढी भो, आफैलाई झ्याउ लागि सक्यो । पढ्ने मान्छेलाइ कति दिक्क लाग्या होला !

मेरो बारेमा जान्न मन लागे मलाइ सोसियल मिडियामा फलो गर्न सक्नुहुन्छ, वा सिधै redstarsachin@gmail.com मा इमेल पनि गर्न सक्नुहुन्छ । केहि सार्वजनिक रुपमै सोध्न मिल्ने प्रश्न छन् भने यहि कमेन्ट बक्समा लेखे पनि फरक नपर्ला ।